काशी हिन्दू विश्वविद्यालयमा भानु जयन्ती पालन

00-1-Bhanubhakta-1

वाराणसी: काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागमा २०९औँ भानु जयन्ती साहित्यिक परिवेशमा सम्पन्न भयो। विभागाध्यक्ष प्रो. दिवाकर प्रधानको सभापतित्वमा भएको समारोहको थालनीमा उपस्थित सभासद्‌हरूले सामूहिक रूपमा कुलगीत गायन गरे। शोधार्थी यादव सापकोटा र विद्यार्थी आयुष प्रधानले मङ्गलाचरण वाचन गरेपछि भानुभक्तको छविमा माल्यार्पण गरियो। छात्रा मनमाया गोले र प्रियश्ना राईले रामायण पाठ गरे। विद्यार्थी रोहित खुलाल र नितेश राईले भानुभक्तका फुटकर रचना आवृत्ति गरे । शोधार्थी मौसम शर्माले भानुभक्त विषयक स्वरचित कविता पाठ गरे। 

सहायक प्राध्यापक डा. जगदीशन टीले कवि र कविताको महत्त्वसँगै आधुनिक भारतीय भाषाको साहित्यका लहरमा नेपाली साहित्यलाई स्थापित गराउनमा भानुभक्तको महत् भूमिका रहेको उल्लेख गरे। अध्यक्षीय भाषणमा विभागाध्यक्षले तत्कालीन भारतीय नवजागरणको प्रभादेखि मुक्त परिवेशमा परम्परागत धार्मिक चेतनालाई प्रकाश पार्दै गरिएको भानुभक्तका काव्य साधनाबारे चर्चा गरे। उनले नेपाली भाषालाई शुद्ध मानक रूप प्रदान गर्नमा दिएको योगदानबारे सभालाई परिचित गराए। डा. अमित थापाले पृथ्वीनारायण शाहको राजनैतिक एकीकरण र भानुभक्तको साहित्यिक एकीकरणलाई चर्चामा ल्याउँदै भानुबारे विचार राखे। सभाको अन्त्यमा डा. विघ्नेश अनन्त एसले कविलाई चिन्नु भनेको आफ्नो अस्तित्वलाई स्थापित गर्नु हो भन्ने विचार व्यक्त गरे।

 

About Author

Advertisement