सिलगढी: तृणमूल कङ्ग्रेसको सरकारका पालामा सिलगढीको कावाखालीमा स्थापना गरिएको ‘विश्व बङ्ग्ला शिल्पी हाट’ को नाम परिवर्तन हुन सक्ने सङ्केत पश्चिम बङ्गालका मन्त्री दीपक बर्मनले दिएका छन्। यद्यपि, नाम परिवर्तनभन्दा पनि सो हाटलाई पुनः सञ्चालनमा ल्याउनु अहिलेको मुख्य प्राथमिकता रहेको उनले बताएका छन्।
विभिन्न विभागका अधिकारीहरूसहित शुक्रबार कावाखालीस्थित शिल्पी हाटको निरीक्षणमा पुगेका मन्त्री बर्मनले त्यहाँको वर्तमान अवस्था र पूर्वाधारको अवलोकन गरेका थिए।
निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले स्थानीय कलाकारहरूले आफ्ना कलाकृति प्रदर्शन र प्रवर्द्धन गर्न सकून् भन्ने उद्देश्यले शिल्पी हाटको मर्मतसम्भार तथा स्तरोन्नति गर्ने योजना रहेको जानकारी दिए।
सो क्रममा मन्त्री बर्मनले अब ‘विश्व बङ्ग्ला’ को अस्तित्व नरहेकाले यस नामको कुनै सान्दर्भिकता नरहेको दाबी गरे। तर, नाम परिवर्तनमा अल्झिनुभन्दा पनि बन्द रहेको शिल्पी हाटलाई पुनः सञ्चालनमा ल्याएर कलाकारहरूको हितमा प्रयोग गर्नु नै सरकारको पहिलो प्राथमिकता रहेको उनले स्पष्ट पारे।





