अक्टोबर ३० देखि ‘काठमाडौं फिल्म फेस्टिभल’, तीन दिनसम्म चलचित्र र सांस्कृतिक कार्यक्रम

9e7320d5-7cff-4411-9511-30dc04f82e58

काठमाडौं: काठमाडौं महानगरपालिकाले आगामी अक्टोबर ३० देखि नोभेम्बर १ सम्म तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ। नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन, स्थानीय कलाकारको सम्मान तथा काठमाडौंसहित देशभरका कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवबारे जानकारी दिँदै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका विभिन्न स्थानमा तीन दिनसम्म चलचित्र प्रदर्शनसहित विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने बताइन्।
महोत्सवको पहिलो दिन खुला स्थानमा चलचित्र प्रदर्शन, सम्पदा पदयात्रा तथा काठमाडौंको मौलिक संस्कृति झल्काउने कार्यक्रम आयोजना गरिनेछ। चलचित्र हेर्न सधैँ हलमै जानुपर्छ भन्ने मान्यतालाई परिवर्तन गर्दै समुदाय र टोलटोलसम्म चलचित्र पुर्‍याउने उद्देश्यले खुला स्थानमा प्रदर्शन गर्न लागिएको डंगोलले बताइन्।
महोत्सवको दोस्रो दिन नेपाली चलचित्र क्षेत्रलाई समर्पित गरिनेछ। उक्त दिन पुराना तथा नयाँ कलाकारलाई सम्मान र प्रोत्साहन गर्नुका साथै नेपाली चलचित्र तथा सिर्जनात्मक उद्योगमा योगदान पुर्‍याउने व्यक्तिहरूको कामको उत्सव मनाइनेछ। तेस्रो दिन बौद्ध क्षेत्रमा भ्रमण, धन्यवाद ज्ञापन कार्यक्रम तथा चलचित्र प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।
डंगोलले काठमाडौंलाई राजधानीका रूपमा मात्र नभई चलचित्र निर्माण र सिर्जनात्मक गतिविधिको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास गर्नुपर्ने बताइन्। काठमाडौंका मन्दिर, रानीपोखरी, खुलामञ्च, पशुपति, बौद्ध, स्वयम्भू र तीनकुनेलगायत स्थानका ऐतिहासिक तथा सांस्कृतिक कथालाई चलचित्रमार्फत विश्वसामु पुर्‍याउन सकिने उनको भनाइ छ।
‘काठमाडौं युनेस्को क्रिएटिभ सिटी अफ फिल्म’ का रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै उनले चलचित्रलाई सहरको कला, संस्कृति, भाषा, साहित्य, संगीत, खानपान र मौलिक पहिचान अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रभावकारी माध्यमका रूपमा लिनुपर्ने बताइन्।
माइ कल्चर, माइ हेरिटेज’ अवधारणामा महोत्सव
‘माइ कल्चर, माइ हेरिटेज’ अर्थात् ‘मेरो संस्कृति, मेरो सम्पदा’ अवधारणाअन्तर्गत आयोजना हुने महोत्सवमा देशका विभिन्न क्षेत्रका मौलिक कथा, कला र संस्कृतिलाई समेटिएका चलचित्र प्रदर्शन गरिनेछ। स्थानीय कलाकार, परम्परागत बाजा बजाउने समूह, नृत्यकर्मी तथा समुदायको सहभागितालाई प्राथमिकता दिइनेछ। साथै, स्थानीय खानपान र सांस्कृतिक गतिविधिलाई समेत प्रवर्द्धन गरिने महानगरपालिकाले जनाएको छ।
चलचित्र क्षेत्रमा करिअर बनाउन चाहने विद्यार्थी तथा युवालाई लक्षित गरी मास्टर क्लास, कार्यशाला र शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरिनेछ। कान्स फिल्म फेस्टिभलमा सहभागी भइसकेको नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ को प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम पनि महोत्सवमा समावेश गरिएको छ।
यस कार्यक्रमले चलचित्र निर्माणमा रुचि राख्ने युवा तथा विद्यार्थीलाई अनुभवी व्यक्तिहरूसँग अनुभव आदानप्रदान गर्ने र चलचित्रसम्बन्धी ज्ञान हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको डंगोलले बताइन्।
नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग जोड्ने तथा सिर्जनात्मक क्षेत्रको विकास गर्ने लक्ष्यसहित आयोजना हुन लागेको महोत्सव सफल बनाउन महानगरपालिकाले सञ्चारमाध्यम, कलाकार, स्थानीय समुदाय तथा चलचित्र क्षेत्रसँग सम्बन्धित सबै पक्षसँग सहयोगको आग्रह गरेको छ।

About Author

Advertisement