कालेबुङ: मेनेजमेन्ट अफ् सिट्रस डिकलाइन इन ईष्टन हिमालयको आयोजना अनि आईक्यूएसी कालेबुङको क्लुनी ह्युमन कलेजको सहयोगमा “सुन्तला खेतीको पुन:उत्थान” विषय कालेबुङको क्लुनी कलेजमा ३ अनि ४ फरवरी २०२४ मा दुई दिवसीय अन्तरराष्ट्रिय कार्यशाला सम्पन्न भयो। विशेष गरेर दार्जिलिङ पहाडको सुन्तला खेतीको गरिमालाई फर्काई ल्याउन यस अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न गरिएको बताइएको छ। कार्यक्रममा मुख्य अतिथिका रूपमा मन्त्री अनुप रोय, डिपार्टमेन्ट अफ् एफपीआई एन्ड हटिकल्चर, पश्चिम बङ्गाल उपस्थित थिए। कार्यक्रम क्लुनी कलेजकी प्राचार्य सिस्टर डा पुष्प माइकलको अध्यक्षतामा सम्पन्न भएको थियो। सर्वप्रथम अतिथिहरूलाई माल्यार्पण साथै दीप प्रज्जवलन गरी कार्यक्रमको थालनी गरिएको थियो। उद्घाटन समारोहको थालनीमा कलेजकी प्राचार्य सिस्टर डा. पुष्प माइकलले स्वागत सम्बोधन राखेकी थिइन् भने मुख्य अतिथि मन्त्री अनुप रोयले कायर्क्रमलाई सम्बोधन गरेका थिए। यसका साथै डा. सुब्रता गुप्त, आईएएस, एडिसनल चिफ सेक्रेटेरी, डिपार्टमेन्ट अफ एफपीटी एन्ड हटिकल्चर, पश्चिम बङ्गालले पनि आफ्नो सम्बोधन राखेका थिए। उद्घाटन चरणको अन्त्यमा रतन थापा, सभासद, सिङ्कोना, जीटीएले धन्यवाद ज्ञापन गरेको थिए भने उपस्थित अतिथिहरूलाई क्लुनी कलेजकी प्राचार्य सिस्टर डा पुष्प माइकलको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरिएको थियो। त्यसपछि कार्यशालाको पहिलो चरणको कार्यक्रममा ‘सुन्तला खेतीमा रोग र कीराहरूको व्यवस्थापन’ विषय उपस्थित प्रस्तोताहरूले आआफ्ना पत्र प्रस्तुत गरेका थिए।

यसरी नै दोस्रो चरणको कार्यशाला ‘पोषण व्यवस्थापन’ अनि तेस्रो चरण ‘बगैचाँ व्यवस्थापन’ विषयमाथि सम्पन्न भएको थियो। कार्यशाला अनलाइन अनि अफलाइन सम्पन्न भएको थियो जसमा विभिन्न देशहरू अमेरिका, इरान, भुटान, नेपाल आदि साथै सिक्किम, नागपुर आदिबाट श्रोत व्यक्तिहरूले आआफ्ना पत्र प्रस्तुत गरेका थिए। कार्यशालाको अन्त्यमा सुन्तला खेती गर्ने किसानहरूसँग अन्तरक्रिया पनि सम्पन्न भएको थियो। कार्यक्रमबारे आयोजक पक्षबाट सिन्कोना विभागीय डाइरेक्टर डा. सामुएल राईले आधिकारिक जानकारी दिएका छन्।









