कठोर परिश्रम र लगनको साथ राष्ट्रिय अण्डर-२० टीमको जर्सी लगाउन सफल हुने माल बजारका सुजीत सिंह

IMG-20220725-WA0110.jpg

२५ जुलाईः सीमित सुविधा, संसाधन र अवसरबीच पनि माल बजारबाट भारतीय अण्डर-२० टीममा स्थान बनाएर प्रतिभाशाली मीडफिल्डर सुजीत सिंहले सबैको मन जितेका छन्। भुवनेश्वरमा हुने साफ अण्डर-२० च्याम्पियनशीपको निम्ति मुख्य प्रशिक्षक शनमुगम भेंकटेशद्वारा घोषित २३ सदस्यीय भारतीय टीममा माल बजारका युवा खेलाड़ी सुजीतले स्थान पाएका छन्। न्यू माल निवासी शम्भु सिंह र विणा सिंहका सुपुत्र १९ वर्षीय सुजीतमा फूटबल खेललाई लिएर सानैदेखि चासो रहेको थियो।

माल बजारमा विश्वनाथ बसुबाट खेलको प्रशिक्षण लिएर सुजीतले केही समयको निम्ति स्थानीय टुर्नामेण्टहरूमा आफ्नो कौशल देखाएका थिए। त्यसपछि २०१९-मा जलपाईगढ़ीमा भएको ईष्ट बेंगलको ट्रायलमा हिस्सा लिएपछि चाहिँ सुजीतको भाग्य चम्कियो। ईष्ट बेंगलको अण्डर-१८ टीममा चयन भएपछि चाँड़ै सुजीतले आई लीग खेल्ने मौका पनि पाए। यसको साथमा बंगालको सन्तोष ट्रफी टीममा खेल्ने सुजीतले यसै टीमबाट खेल्दै भारतीय सीनियर फूटबल टीम विरुद्ध मैत्री म्याचमा एक गोल पनि गरे।

कठोर मेहनत र लगनको साथ सानो उमेरमै द्रुत गतिमा सफलताको सीड़ि चड़्ने सुजीत अहिले राष्ट्रिय अण्डर-२० टीमसँग अभ्यास गरिरहेका छन्। साफ अण्डर-२० च्याम्पियनशीपको आयोजन भुवनेश्वरमा हुनेछ। भारतले आफ्नो पहिलो म्याच २७ जुलाईमा बंग्लादेश विरुद्ध खेल्नेछ। त्यसपछि २९ जुलाईमा श्रीलंका, ३१ जुलाईमा नेपाल र २ अगस्तमा मालद्वीप विरुद्ध म्याच रहेको छ। फाइनल ५ अगस्तमा खेलिनेछ।

About Author

Advertisement