गान्तोक: गत राति पश्चिम सिक्किमको सोरेङमा केही असमाजिक तत्वहरूले पार्टीका जिल्ला कार्यकारी समितिका महासचिव कमल कुलुङ राईको स्करपियो वाहन राखेकै ठाउँमा तोड़फोड़ गरेको भन्दै सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीले प्रतिवाद जनाएको छ। यसको साथै ती असमाजिक तत्वहरूलाई पक्राउ गरेर कड़ा कार्यवाही गरिनुपर्ने माग पनि गरेको छ।
यस सम्बन्धमा पार्टीले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर राज्यमा बड़को हिंसाको घट्नाथि चिन्ता जताएको छ। यस प्रकारका अराजक घटनाहरू सिक्किममा दिनदिनै घटिरहेका छन्, जसले गर्दा सर्वधारण जनताको धन-जनको सुरक्षा खतरामा परेको छ। एसडीएफ पार्टी यस प्रकारका असामाजिक क्रियाकलापको कडा शब्दमा निन्दा गर्दछ अनि पुलिस प्रशासनलाई समुचित छानबीन गरी दोषीमाथि कार्वाही गर्न माग गर्दछ, विज्ञप्तिमा भनिएको छ।
अर्कोतिर सोरेङमा नै सिटिजन एक्शन पार्टी, सिक्किमका कार्यकर्ताहरूमाथि भएको कथित आक्रमणको घट्नाको पनि सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीले भत्सर्ना जनाएको छ। एसडीएफ-ले विज्ञप्तिमा भनेको छ, अहिले चुनाउ नजिकिँदै गएको हुनाले यसप्रकारको उपद्रवी घटनाहरूमा भय र त्रास फैलने हुनाले लोकतन्त्रको मूल्य र मान्यताको हनन हुनेछ। एसडीएफ पार्टीका पनि अनेक कार्यक्रमहरूमा वर्तमान सत्ताधारी दल र कार्यकर्ताहरूले अनेकौंपल्ट भौतिक रूपले आक्रमण गरेको हुँदा वर्तमान सरकारको कार्यशैली अलोकतान्त्रिक रहेको प्रष्ट छ। एसडीएफ पार्टी यसप्रकारका अलोकतान्त्रिक क्रियाकलापको कठोर शब्दमा भर्त्सना गर्दछ अनि सरकारलाई राज्यमा पूर्ण शान्ति बहाल गर्न आग्रह गर्दछ।











