एशियाली एथलेटिक्समा भारतलाई ऐतिहासिक सफलता, सिक्किमका राजीव रोकाद्वारा सफल नेतृत्व

FB_IMG_1780422249281

गान्तोक: हङकङमा सम्पन्न भएको २२औँ एशियाली यू२० एथलेटिक्स च्याम्पियनसिपमा भारतीय टोलीले हासिल गरेको अभूतपूर्व सफलताप्रति सिक्किम एथलेटिक्स संघ (एसएए)-ले हार्दिक बधाई ज्ञापन गरेको छ। यस प्रतिष्ठित प्रतियोगितामा भारतले १० स्वर्ण, ५ रजत र ४ कांस्य पदकसहित कुल १९ वटा पदक जितेर पदक तालिकामा दोस्रो स्थान हासिल गर्दै देशको नाम रोशन गरेको छ।
​सिक्किम एथलेटिक्स संघले विशेष गरी आफ्ना महासचिव राजीव रोकालाई यस महादेशीय प्रतियोगिताका लागि भारतीय टोलीको टोली प्रबन्धक (टिम म्यानेजर) नियुक्त गरिएकोमा असाध्यै गर्व व्यक्त गरेको छ। रोकाको कुशल नेतृत्व र उत्कृष्ट व्यवस्थापनमा युवा भारतीय खेलाडीहरूले हालका वर्षहरूमध्येकै सर्वोत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक संख्यामा स्वर्ण पदक जित्न सफल भएको संघले जनाएको छ। यस संस्करणमा खेलाडीहरूले विभिन्न च्याम्पियनसिप, राष्ट्रिय तथा जुनियर राष्ट्रिय कीर्तिमानहरू समेत कायम गरेर नयाँ इतिहास रचेका छन्।
​भारतीय युवा टोलीले स्प्रिन्ट, रिले दौड, मध्यम दूरीका दौड, रेस वाकिङ, जम्प, थ्रो तथा संयुक्त स्पर्धालगायत विभिन्न विधाहरूमा आफ्नो सानदार क्षमता प्रदर्शन गरेको छ। यस पटकका उल्लेखनीय उपलब्धिहरूमध्ये महिला हाई जम्पमा पूजा सिंहद्वारा नयाँ राष्ट्रिय तथा च्याम्पियनसिप कीर्तिमान कायम गर्नु, पुरुष तथा महिला दूरीका दौडहरूमा स्वर्ण पदक प्राप्त गर्नु, फिल्ड इभेन्टहरूमा उत्कृष्ट प्रदर्शन गर्नु र रिले स्पर्धाहरूमा नयाँ कीर्तिमान स्थापित गर्नु रहेको छ।
​सिक्किम एथलेटिक्स संघका अनुसार, राजीव रोकालाई भारतीय टोलीको प्रबन्धकका रूपमा चयन गरिनु उनको एथलेटिक्स प्रशासन तथा खेलाडी विकासमा लामो समयदेखि पुर्‍याउँदै आएको अमूल्य योगदानको उचित सम्मान हो। विगतका वर्षहरूमा उनले सिक्किममा एथलेटिक्स खेलको प्रवर्द्धन, युवा प्रतिभाहरूको खोजी र विकास, संस्थागत संरचनाको सुदृढीकरण तथा राज्यमा खेलकुदको प्रतिष्ठा बढाउन निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
​संघले अघि भनेको छ, यति ठूलो र प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतीय टोलीको सफल नेतृत्व गर्नु सम्पूर्ण एथलेटिक्स समुदाय र सिक्किमवासीका लागि ठुलो गौरवको विषय हो। भारतको यस ऐतिहासिक सफलतामा रोकाको प्रत्यक्ष सहभागिताले राष्ट्रिय खेलकुदको क्षेत्रमा सिक्किमका खेल प्रशासकहरूको बढ्दो गरिमा र योगदानलाई स्पष्ट रूपमा उजागर गरेको छ। संघले भारतीय टोलीका सम्पूर्ण होनहार खेलाडी, प्रशिक्षक, सहयोगी कर्मचारी तथा पदाधिकारीहरूलाई उनीहरूको यस उल्लेखनीय र गौरवमय उपलब्धिका लागि हार्दिक बधाई तथा आगामी यात्राको निम्ति शुभकामना व्यक्त गरेको छ।

About Author

Advertisement