एमएसएमईका उत्पादनलाई बजारसँग जोड्न गान्तोकमा दुईदिने विक्रेता विकास कार्यक्रम सुरु​

FB_IMG_1790705361503

गान्तोक: सूक्ष्म, लघु तथा मध्यम उद्यम (एमएसएमई) का उत्पादनलाई सार्वजनिक खरिद प्रणाली र ठूला बजारसँग जोड्ने उद्देश्यका साथ सिक्किमको गान्तोकस्थित रिज पार्कमा दुईदिने विक्रेता विकास कार्यक्रम, प्रदर्शनी तथा खरिदकर्ता-विक्रेता भेटघाट सुरु भएको छ।
​भारत सरकारको सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्रालयअन्तर्गत गान्तोकस्थित एमएसएमई विकास तथा सहजीकरण कार्यालयको आयोजनामा मङ्गलबारदेखि कार्यक्रम सुरु भएको हो।
​कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं राज्यसभा सांसद डीटी लेप्चाले सिक्किमका साना उद्यमी तथा संस्थागत खरिदकर्ताबिच बलियो व्यावसायिक सम्बन्ध स्थापना हुनुपर्नेमा जोड दिए। केन्द्र सरकारका मन्त्रालय, विभाग तथा केन्द्रीय सार्वजनिक क्षेत्रका उपक्रमहरूको खरिद आवश्यकता, गुणस्तर मापदण्ड, दर्ता र बोलपत्र प्रक्रियाबारे बुझ्न स्थानीय उद्यमीका लागि यो कार्यक्रम महत्त्वपूर्ण मञ्च बन्ने उनले बताए।

पर्यटन, जैविक कृषि, खाद्य प्रशोधन, हस्तकला, हातकरघा तथा पर्यावरणमैत्री उद्यमको प्रचुर सम्भावना रहेको औँल्याउँदै सांसद लेप्चाले उद्यमीहरूलाई मूल्य अभिवृद्धि, ब्रान्डिङ र प्रमाणीकरणमा ध्यान दिन आग्रह गरे। विशेष गरी महिला उद्यमी र स्वयं सहायता समूहको क्षमता अभिवृद्धिका लागि तालिम, प्याकेजिङ, वित्तीय पहुँच तथा बजार पहुँच विस्तार आवश्यक रहेको उनको भनाइ थियो।
​कार्यक्रममा एमएसएमई विकास तथा सहजीकरण कार्यालयका सहायक निर्देशक निर्मल चौधरीले स्थानीय उद्यमी तथा कालिगडहरूलाई सरकारी ई-बजार (जीईएम), ट्राइब्स इन्डिया तथा राष्ट्रिय व्यापार मेलाजस्ता डिजिटल र संस्थागत मञ्चको अधिकतम उपयोग गर्न आग्रह गरे।
​दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा सिक्किमभरिका सूक्ष्म तथा लघु उद्यमहरूले आफ्ना उत्पादन प्रदर्शन गर्नुका साथै सरकारी निकाय र सार्वजनिक उपक्रमका प्रतिनिधिहरूसँग सीधा व्यावसायिक संवाद गर्ने अवसर पाउनेछन्।

About Author

Advertisement