एनडीए उत्तीर्ण पहिलो महिला ब्याच सेना र वायुसेनामा कमिसन, सैन्य इतिहासमा नयाँ अध्याय

5eb92070-bf55-4d49-8627-f1246fe88e50

​देहरादून/हैदराबाद: भारतीय सैन्य इतिहासमा शनिबार एउटा ऐतिहासिक उपलब्धि दर्ता भएको छ। राष्ट्रिय रक्षा एकेडेमी (एनडीए) बाट कडा सैन्य प्रशिक्षण पूरा गरी पहिलो पटक महिला क्याडेटहरू सैनिक अधिकारीका रूपमा कार्यक्षेत्रमा उत्रिएका छन्।
​देहरादूनस्थित भारतीय सैन्य एकेडेमी (आईएमए) र हैदराबादको एयर फोर्स एकेडेमीमा आयोजित ‘पासिङ आउट परेड’ सँगै १४ महिला क्याडेटहरूले औपचारिक रूपमा सैन्य अधिकारीको जिम्मेवारी सम्हालेका हुन् । सन् २०२१ मा भारतीय सर्वोच्च अदालतले महिलाहरूलाई पनि एनडीएमा प्रवेश दिन आदेश जारी गरेपछि यो बाटो खुलेको थियो। सोही ऐतिहासिक फैसलापछि अगस्ट २०२२ मा भर्ना भएको पहिलो ब्याचले ३ वर्षको शैक्षिक तथा सैन्य तालिम र १ वर्षको थप विशेष प्रशिक्षण पूरा गरी यो सफलता हात पारेको हो।
​आईएमए इतिहासमै पहिलो पटक ‘अन्तिम पग’ पार
​आईएमए स्थापनाको ९४ वर्षे इतिहासमा पहिलो पटक महिला क्याडेटहरूले पुरुष समकक्षीहरूसँगै कदमताल मिलाउँदै ‘अन्तिम पग’ (दीक्षान्त रेखा) पार गरे। देहरादूनमा आयोजित विशेष समारोहमा एनडीए पहिलो महिला ब्याचका ९ क्याडेटहरू थलसेनामा कमिसन भएका छन् भने हैदराबादबाट ५ महिला क्याडेट वायुसेनामा अधिकारीका रूपमा सामेल भएका छन्।
​दुवै सैन्य प्रतिष्ठानबाट यस पटक कुल ७४६ क्याडेटहरू उत्तीर्ण भई कार्यक्षेत्रमा खटिएका छन्। जसमा आईएमए देहरादूनबाट ५१५ (१६ मित्रराष्ट्रका ३४ विदेशी क्याडेटसहित) र एयर फोर्स एकेडेमी हैदराबादबाट २३१ फ्लाइट क्याडेटहरू पास आउट भए। वायुसेना तर्फ उत्तीर्ण हुने ३७ महिलामध्ये ५ जना एनडीए ब्याचका हुन्।
​’यो देशकै लागि ऐतिहासिक क्षण’: राष्ट्रपति मुर्मू
​आईएमएमा आयोजित परेडको मुख्य निरीक्षण गर्दै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले यसलाई देशको इतिहासकै गौरवपूर्ण क्षणका रूपमा चित्रण गरिन्। “पहिलो पटक नौ महिला क्याडेटहरू सैन्य अधिकारीका रूपमा उत्तीर्ण हुनु देशमा लैंगिक समानता र महिला सशक्तीकरणको बलियो प्रतीक हो,” राष्ट्रपति मुर्मूले भनिन्, “नेतृत्व भनेको आदेश दिनु मात्र होइन, यो चरित्र, संवेदनशीलता र जिम्मेवारीको ऐना पनि हो।”
​समारोहका दौरान उत्कृष्ट प्रदर्शन गर्ने क्याडेटहरूलाई विभिन्न विधामा पदक तथा सम्मान प्रदान गरिएको थियो। जसमा अफिसर क्याडेट विशाल कुमारले प्रतिष्ठित ‘स्वोर्ड अफ अनर’ र स्वर्ण पदक प्राप्त गरे भने बंगलादेशका अफिसर क्याडेट जइफ सदी अल्भी सर्वोत्कृष्ट विदेशी क्याडेट घोषित भए।
​सैन्य मामिलाका विज्ञहरूका अनुसार, एनडीए मार्फत नियमित सैन्य अधिकारीका रूपमा महिलाहरूको यो प्रवेशले देशको रक्षा पंक्तिमा उनीहरूको भूमिकालाई अझ मजबुत बनाउने मात्र नभई आगामी पुस्ताका लाखौँ बालिकाहरूका लागि समेत प्रेरणाको ठुलो स्रोत बन्नेछ।

About Author

Advertisement