जोरहाट: भारतीय वायुसेना (आईएएफ) को एउटा ‘एएन–३२’ परिवहन (कार्गो) विमान शनिबार असमको जोरहाटस्थित एयरफोर्स स्टेशनभित्रै दुर्घटनाग्रस्त भएको छ। दुर्घटनालगत्तै विमानमा भीषण आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रारम्भिक विवरणअनुसार सैन्य विमान एयरफोर्स स्टेशन परिसरभित्रै खसेको थियो। घटनालगत्तै उद्धार तथा आपत्कालीन टोलीहरू परिचालन गरी आगो नियन्त्रणमा लिने प्रयास सुरु गरिएको छ।
भारतीय वायुसेनाले दुर्घटनाको पुष्टि गर्दै क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ। दुर्घटनाको ठोस कारण र मानवीय क्षतिको आधिकारिक पुष्टि हुन बाँकी रहे पनि सुरुवाती रिपोर्टहरूले विमानका पाइलट हताहत भएको आशंका गरेका छन्। वायुसेनाले घटनाको छानबिनका लागि उच्चस्तरीय टोली गठन गरी अनुसन्धान सुरु गरिसकेको छ।
दुर्घटनामा परेको ‘एएन–३२’ भारतीय वायुसेनाको प्रमुख मालवाहक विमान हो। यसको प्रयोग सैनिक टोली, सैन्य सामग्री र दुर्गम तथा पहाडी क्षेत्रमा आवश्यक बन्दोबस्तीका सामान ढुवानीका लागि गरिँदै आएको छ।










