एनटीपीसी नेशनल ऱ्याङकिङ आर्चेरी प्रतियोगिताको फाइनलमा तरूणदीप खेल्ने

IMG-20230228-WA0336.jpg

गान्तोक: गत २४ फरवरीदेखि राजधानीस्थित पाल्जर स्टेडियममा शुरू भएको पहिलो एनटीपीसी नेशनल ऱ्याङकिङ आर्चेरी प्रतियोगिताको आजको कार्यक्रममा विधायक अदित्य गोले मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस प्रतियोगितालाई तीनवटावर्गमा विभाजन गरिएको छ, जसमा जुनियर, सब जुनियर र सिनियर आर्चेरी खेलाडीहरू सामेल रहेका छन्। आयोजक समितिले जानकारी गराए अनुसार जुनियर र सब जुनियरको फाइनल खेल बुधबार सम्पन्न हुने भएको छ भने सिनियरवर्गको फाइनल खेल आगामी ५ मार्चको दिन समापन हुनेछ। सिनियरवर्गमा अर्जुन अवार्डी तरूणदीप राईसँगै देशका अन्य खेलाडीहरूले भाग लिनेछन। सिक्किम राज्यमा पहिलो पल्ट यस प्रकारको राष्ट्रीयस्तरको प्रतियोगिता आयोजना गर्न सकेकोमा सिक्किम आर्चेरी एसोसिएशनले राज्य सरकारप्रति आभार प्रकट गरेको छ। यस प्रतियोगिताबाट राज्यका खेलाडीहरूले पनि धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको आयोजक समितिको भनाइ रहेको छ। बिस्तारै सिक्किमले पनि आर्चेरी खेलमा प्रगति गर्न सक्ने साथै राष्ट्रीयस्तरमा राज्यका खेलाडीहरू पुग्न सक्ने सम्भावना व्यक्त गरिएको छ। इन्डियान आर्चेरी एसोसिएशनद्वारा आयोजित यस प्रतियोगिताको आजको खेलका मुख्य अतिथि विधायक गोलेले सिक्किमका आर्चेरी खेलाडीहरूलाई खेलप्रति चासो राखेर खेलेमा अवश्य पनि अन्तराष्ट्रीयस्तरका खेलाडी बन्न सक्ने सुझाउ दिएका छन्। यस प्रकारको राष्ट्रीय प्रतियोगिता सिक्किममा आयोजना गर्न पाउनु सिक्किमको निम्ति ठूलो कुरा रहेको उनले बताए। यस प्रकारको प्रतियोगिता सिक्किममा आयोजना गरिएकोमा आयोजक समितिलाई धन्यवाद दिँदै आभार प्रकट गरे। उनले आर्चेरीमा मात्र नभएर अन्य खेलमा रूची राख्नेहरूले यस खेल हेरेमा अवश्य पनि केही सिक्न पाउने बताए। राज्यका नानीहरूले पनि अरू ठाउँमा गएर विभिन्न प्रकारको खेलमा सहभागी बन्नु पर्ने विधायक गोलेले आग्रह गरे।

About Author

Advertisement