दार्जिलिङ (11 सेप्टेम्बर ): गोरामुमोको श्रमिक संगठन हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्युयु) पुबुङ शाखाले नामरिङ चियाबारीका श्रमिकहरूले वर्तमान समयमा भोगिरहेका विभिन्न समस्याहरूको समाधानको माग गर्दै चियाबारीका प्रबन्धकसमक्ष ज्ञापन पत्र बुझाएको छ। एचपीडब्ल्युयु पुबुङ शाखाको पहलमा बुझाइएको उक्त ज्ञापनपत्रमार्फत श्रमिकहरूको विभिन्न समस्या तथा उनीहरूले दैनिक रूपमा सामना गरिरहेका कठिनाइहरूबारे चियाबारी व्यवस्थापन पक्षलाई विस्तृत जानकारी गराइएको बताइएको छ। यस अवसरमा एचपीडब्ल्युयु पुबुङ चियाबारी शाखाका अध्यक्ष पुरण राई, सचेत योगेश गुरुङ, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पुबुङ शाखाका अध्यक्ष श्याम मगर तथा उदय गुरुङ लगायतको टोलीले नामरिङ चियाबारीका प्रबन्धकसँग भेट गरी श्रमिकहरूको समस्याप्रति गम्भीर ध्यानाकर्षण गराएको थियो। टोलीले श्रमिकहरूले भोगिरहेका समस्याहरूको उचित र शीघ्र समाधानका लागि व्यवस्थापन पक्षले आवश्यक पहल गर्नुपर्ने माग राखेको बताइएको छ। श्रमिकहरूको हित, अधिकार तथा उनीहरूको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका विषयहरूलाई प्राथमिकताका साथ समाधान गर्नुपर्नेमा प्रतिनिधि टोलीले जोड दिएको थियो।
एचपीडब्ल्युयुले श्रमिकहरूको जायज माग र समस्याप्रति व्यवस्थापन पक्ष गम्भीर बन्ने तथा समस्याहरूको समाधानका लागि सकारात्मक पहल गर्ने विश्वास व्यक्त गरेको छ।





