एउटै कक्षामा तीन जुम्ल्याहा, विद्यालयमा पाँच

IMG-20240706-WA0171

बिराटनगर: झापा जिल्लास्थित मेचीनगरको एक विद्यालयको एउटै कक्षामा तीन जुम्ल्याहा र विद्यालयमा पाँच जुम्ल्याहा विद्यार्थी पढ्दै आएका छन्। मेचीनगर-१४ दुहागढीमा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालयमा पाँच जुम्ल्याहा विद्यार्थीहरु पढ्ने गरेका हुन्। विद्यालयका प्रधानाध्यापक विश्व थापाका अनुसार निशान र निर्जल घिमिरे, गंगा र लक्ष्मण डाँगी तथा गंगा र जमुना घिमिरे कक्षा-७ को अंग्रेजी माध्यमको सेक्सन ‘बि’ मा अध्ययनरत छन्। निशान र निर्जल दाजुभाइ हुन्। गंगा र लक्ष्मण दिदीभाइ, गंगा र जमुना दिदीबहिनी भएको प्रधानाध्यापक थापाले जानकारी दिए। त्यस्तै, आइसा र फिरोजा दिदीबहिनी हुन्। उनीहरु नेपाली माध्यमको कक्षा-६ सेक्सन ‘ए’ मा अध्ययनरत छन्। कक्षा १ मा अध्ययनरत गंगा र जमुना पनि दिदीबहिनी हुन् ।यी पाँचै जोडीको रुचि प्रायः समान छ। पढाइसँगै खेलकुदमा समेत उनीहरुको रुचि रहेको प्रधानाध्यापक थापा बताउँछन् ।‘उनीहरुको हाउभाउ चालचलन सवैको एकै प्रकारको भए पनि शिक्षण सिकाईमा समान छैन’ प्रधानाध्यापक थापाले भने, ‘कोही अब्बल छन् त कोही थोरै कमजोर छन् तर, अन्य विद्यार्थीहरुको तुलनामा चाहिँ नतिजा उत्कृष्ट नै छ।’ जोडीमध्ये कोही एकजना विद्यालय नआउने भएमा दुवैजना आउँदैनन्। विद्यालयमा सँगै बस्ने, हिँड्डुल गर्ने खाजा समेत सँगै खाने गर्ने गरेको प्रधानाध्यापक थापा बताउँछन्।उनीहरुको मूल्याङ्कन गर्ने क्रममा समेत शिक्षकलाई गाह्रो हुन्छ। शिक्षकलाई नाम थाहा भए पनि विद्यार्थी कुन हो भन्ने थाहा पाउन गाह्रो हुने हुँदा उनीहरुको नाम भनेर उठाइन्छ र चिन्ने गरिन्छ।

About Author

Advertisement