नयाँ दिल्लीः उपराष्ट्रपति जगदीप धनखड़ले शुक्रवार दिल्लीको प्रगति मैदानबाट ‘हरेक घर तिरङ्गा’ बाइक ऱ्यालीलाई हरियो झण्डी देखाएर प्रस्थान गराए। संस्कृति मन्त्रालयद्वारा आयोजित उक्त ऱ्यालीमा केन्द्रिय मन्त्री जी किशन रेड्डी, अनुराग ठाकुर, अश्विनी चौबे, मीनाक्षी लेखी, अर्जुन राम मेघवाल, शोभा करंदलाजेले पनि भाग लिए।
ऱ्यालीमा भाग लिएपछि केन्द्रिय मन्त्री जी किशन रेड्डीले आह्वान गरे, आगामी १५ अगस्तको दिन देशका नागरिकहरूद्वारा आ-आफ्नो घरमा तिरङ्गा लगाइयोस्। यो ‘स्वतन्त्रताको अमृत महोत्सव’ -को समापन कार्यक्रम हो र हरेक नागरिकले यसमा भाग लिनुपर्छ। ‘हरेक घर तिरङ्गा’ बाइक ऱ्यालीमा सहभागी बन्न आइपुगेका केन्द्रिय मन्त्री अर्जुन राम मेघवालले भने, प्रत्येक नागरिकले १५ अगस्त अनि २६ जनवरीमा आफ्नो घरमा तिरङ्गा प्रदर्शन गर्नुपर्छ। यो नागरिकहरूको कर्तव्य हो। यस वर्ष १५ अगस्त यसैले विशेष छ। यो ‘स्वतन्त्रताको अमृत महोत्सव’ -को समापनको प्रतीक हो।
उल्लेख्य, स्वतन्त्रताको ७५औं वर्षगाँठ मनाउनको लागि गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा “हरेक घर तिरङ्गा” अभियानको शुरूआत गरिएको थियो। यस वर्ष संसद सदस्यहरूको दिल्लीमा आयोजित बाइक ऱ्यालीसितै फेरि यो अभियान शुरू भएको छ। ऱ्यालीमा भाग लिएकाहरूलाई प्रोत्साहित गर्नको लागि सांसद एवं मन्त्रीहरू पनि आ-आफ्नो बाइकमा तिरङ्गा झण्डा लगाएर प्रगति मैदानमा जुटे।
-हिस










