ईंग्लिश प्रीमियर लीगः आर्सनल, लिभरपूल र टोटनह्यामको जीत

Screenshot_20260426_143454_FotoCollage Maker

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा आर्सनलले फेरि एकपल्ट शीर्ष स्थान हासिल गऱ्यो। यसरी लिभरपूल र टोटनह्यामले पनि आ-आफ्नो म्याच जित्यो। शनिवार राति खेलिएको म्याचमा प्रीमियर लीग च्याम्पियन बन्ने रेसमा सामेल आर्सनलले न्यूक्यासलविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ४६ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले शुरुमै हासिल गरेको बढ़तलाई अन्तसम्म कायम राखेर म्याच जित्यो। होम टीमबाट एबेरेची एजे-ले नवौं मिनटमा गोल गरे। त्यसपछि न्यूक्यासलले लगातार आक्रमण गरे पनि बराबरी हासिल गर्न सकेन। गत २ वटा म्याचमा हारको निराशालाई भुलेर रोमाञ्चक जीत हासिल गर्नको साथै आर्सनल ३४ वटा म्याचमा ७३ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्ष स्थानमा पुग्यो। यसरी न्यूक्यासल ४२ पोइण्ट्सको साथ १४औं स्थानमा रहेको छ। रेलिगेशनको संकटसँग जुझिरहेको टोटनह्यामले पनि लामो समयदेखि जारी खराब फर्मबाट मुक्ति पाउँदै वूल्भ्सविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। म्याच चरम रोमाञ्चक रह्यो। यस अवे म्याचमा ६१ प्रतिशत पोजेशनको साथ खेल्ने टोटनह्यामलाई अन्तमा जोआओ पालहिन्हाले जीत दिलाए। उनले म्याचको ८२औं मिनटमा गोल गरे। यस साल टोटनह्यामको यो प्रीमियर लीगमा पहिलो जीत हो। यसअघि टीमले गत १५ वटा म्याचमा जीत हासिल गर्न सकेको थिएन। यस जीतपछि पनि टोटनह्याममाथि रेलिगेशनको संकट कायम रहेको छ अनि टीम ३४ पोइण्ट्सको साथ १८औं स्थानमा रहेको छ।
यसबीच लिभरपूलले क्रिस्टल प्यालेसलाई ३-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलले पहिलो हाफमै २-०-को बढ़त हासिल गऱ्यो। एलेक्जाण्डर इसाकले ३५औं र एण्ड्रू रोबर्टसनले ४०औं मिनटमा गोल गरे। त्यसपछि प्यालेसबाट डेनिएल मुनोजले ७१औं मिनटमा १ गोल गरे पनि लिभरपूलले अन्तिम क्षणमा अझ एक गोल गरी म्याच जित्यो। होम टीमबाट फ्लोरियन विर्त्जले स्टपेज टाइमको छैटौं मिनटमा गोल गरे। यस जीतपछि लिभरपूल ५८ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा चौथो स्थानमा रहन पुग्यो। प्रीमियर लीगका अन्य म्याचहरूमा वेष्ट ह्यामले एभर्टनलाई २-१-ले, फूलह्यामले एस्टन भिल्लालाई १-०-ले अनि नटिंघम फरेष्टले सण्डरल्याण्डलाई ५-०-ले पराजित गऱ्यो।

About Author

Advertisement