नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इन्डोनेसिया भ्रमणका क्रममा सार्वजनिक भएको एउटा तस्बिरले भारतको राजनीतिक वृत्तमा ठूलो विवाद निम्त्याएको छ। भ्रमणको अन्तिम दिन इन्डोनेसियाली संसद्को ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ की सभामुख पुआन महारानीसँग प्रधानमन्त्री मोदीको शिष्टाचार भेटघाट भएको थियो। उक्त भेटको तस्बिरलाई मुख्य विपक्षी दल कांग्रेसले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ ह्यान्डलमा साझा गर्दै तीखो र विवादित टिप्पणी गरेपछि सत्तापक्ष र विपक्षबीच वाकयुद्ध सुरु भएको हो।
यस टिप्पणीप्रति भारतीय जनता पार्टी (बीजेपी) महिला मोर्चाले कडा आपत्ति जनाउँदै कांग्रेसको मानसिकता महिला विरोधी र अत्यन्तै संकीर्ण भएको आरोप लगाएको छ। अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गरिरहेका प्रधानमन्त्री र विदेशी महिला राजनयिकको शिष्टाचार भेटलाई यसरी अमर्यादित रूपमा प्रस्तुत गर्नु लज्जास्पद भएको बीजेपीको भनाइ छ। यस विवादमा कांग्रेसलाई आफ्नै सहयोगी दल शिवसेना (यूबीटी) की राज्यसभा सांसद प्रियंका चतुर्वेदीले समेत कडा आलोचना गरेकी छन्। उनले राजनीतिक विरोधीलाई घेर्ने बहानामा महिलाहरूलाई वस्तुका रूपमा हेर्न बन्द गर्नुपर्ने भन्दै कांग्रेसलाई सार्वजनिक मञ्चहरूमा मर्यादित व्यवहार गर्न हिदायत दिएकी छन्।











