खरसाङ: आयकर कर्मचारी महासंघ, बंगाल सर्कलको प्लैटिनम जुब्लीको अवसरमा यस वर्ष महासंघले राज्यभरी विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेका छन्। यसै अवसरमा आयकर कर्मचारी महासंघ, सिलगढी शाखाको तत्वावधानमा शनिवार सुकनादेखि रङटङसम्म ६ किलोमिटरको पैदल यात्रा (वाकथन) कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा आयकर विभागका प्रधान आयकर आयुक्त श्री राजीव कुमार (भा० रा० से०) प्रमुख अतिथिका रुपमा उपस्थित थिए जसले बिहान ८ बजी झण्डा देखाएर वाकथन कार्यक्रम आरम्भ भएको घोषणा गरे।कार्यक्रममा पूर्व आयकर आयुक्तद्वय मिलन रूचाल अनि अन्जु शेर्पा पनि विशिष्ट अतिथिका रुपमा प्रतिभागी रहेका थिए। यसका साथै पैदल यात्रामा आयकर विभाग, सिलगढी, जलपाईगुडी, दार्जिलिङ अनि कालेबुङका १४० अधिकारी अनि कर्मचारीहरूले भाग लिएका थिए। पैदल यात्राको समापनमा प्रधान आयकर आयुक्तले हर्ष व्यक्त गर्दै यस प्रकारको कार्यक्रमहरूले कर्मचारी वर्गमा स्वास्थ्य प्रति सकारात्मक जागरूकता ल्याउन सहयोग हुने बताए।

यस कार्यक्रमलाई सफलीभूत बनाउन सहयोग अनि उचित दिशा निर्देशन प्रदान गर्नु हुने सुकना वन विभागका अधिकारीवर्ग लगायत खरसाङ अनि सुकना थानाका प्रभारीप्रति आयकर कर्मचारी महासंघ, सिलगढी शाखाले आभार प्रकट गरेका छन्।










