पाकिम: पाकिम जिल्ला आपदा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित आपदा व्यवस्थापन अधिकारीहरूका लागि ‘कृत्रिम बुद्धिमत्ता’ (एआई) सम्बन्धी सातदिने विशेष तालिम शुक्रबार सम्पन्न भएको छ। पाकिमको सेन्ट जेभियर्स स्कूलमा आयोजित समापन समारोहमा राज्य राहत आयुक्त तथा भू-राजस्व एवं आपदा व्यवस्थापन विभागका सचिव रिञ्जिङ छेवाङ भोटिया प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
अप्रिल १३ देखि २१ सम्म सञ्चालन भएको उक्त तालिममा आपदा व्यवस्थापनका आधुनिक डिजिटल उपकरणहरूको प्रयोगबारे प्रयोगात्मक अभ्यास गराइएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भोटियाले प्रभावकारी आपदा व्यवस्थापनका लागि प्रविधिको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले जोखिम न्यूनीकरण गर्न अनुगमन प्रणाली र प्रारम्भिक चेतावनी संयन्त्रलाई सुदृढ पार्नुपर्नेमा जोड दिँदै सहभागीहरूलाई सिकेका सीप व्यवहारमा उतार्न आग्रह गरे।
पाकिमका जिल्लापाल रोहन अगवानेले तालिमको सिंहावलोकन प्रस्तुत गर्दै ड्रोन आधारित अनुगमन र एआई उपकरणहरूले कठिन भूगोलमा उद्धार र राहत कार्यलाई सहज बनाउने विश्वास व्यक्त गरे। तालिममा गुगल अर्थ इन्जिन, च्याटजीपीटी, एनडीभीआई मानचित्रण र नासा वर्ल्डभ्यू जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोगबारे जानकारी दिइएको थियो। इन्क्विजिटिभ माइन्डस्पेस प्राइभेट लिमिटेडका संस्थापक दिनेश ढुङ्गेलले स्रोत व्यक्तिका रूपमा तालिमको सहजीकरण गरेका थिए। समापनमा उत्कृष्ट पाँच सहभागीलाई नगद पुरस्कार र सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो।











