दार्जिलिङ: अनन्त रायको असामयिक निधनप्रति राज्यसभा सदस्य हर्षवर्धन श्रृंगलाले गहिरो शोक व्यक्त गरे। उनले आफ्नो शोक सन्देशमा यति कम उमेरमा प्रियजन गुमाउनु अत्यन्त पीडादायक हुने र यस्तो क्षतिको पूर्ति सम्भव नभएको बताए।
आफ्नो सन्देशमा उनले दिवंगत अनन्त राय, डा. स्मृति रायका प्रिय भाइ भएको उल्लेख गरे। डा. स्मृति राय भारतीय रेडक्रस सोसाइटीकी मानार्थ सचिव तथा दार्जिलिङ वेलफेयर सोसाइटीकी कार्यकारी समिति सदस्य हुन।
उनले गत वर्ष दार्जिलिङ जिल्ला अस्पतालमा अनन्त रायसँग आफ्नो भेट भएको स्मरण गर्दै त्यस समयमा उनी डायलाइसिस उपचारमा रहेको बताए। कठिन स्वास्थ्य अवस्थाका बीच पनि उनको शान्त स्वभाव र दृढ मनोबलले गहिरो प्रभाव पारेको उनले उल्लेख गरे।
हर्षवर्धन श्रृंगलाले यस दुःखद घडीमा डा. स्मृति राय तथा सम्पूर्ण राय परिवारप्रति हार्दिक समवेदना व्यक्त गरे। उनले परमेश्वरसँग परिवारलाई यस कठिन समयमा शक्ति, साहस र धैर्य प्रदान गरून् भनी प्रार्थना गरे।
अन्त्यमा उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै “ॐ शान्ति” भने।









