आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधानको १७५औँ जन्म जयन्तीमा चारजना विशिष्ट व्यक्तित्त्व सम्मानित हुने

188c92c4-c261-40e5-a753-755ee7ca8fac

गान्तोक: पादरी गङ्गाप्रसाद प्रधान स्मृति प्रतिष्ठानले समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउँदै आएका विशिष्ट व्यक्तित्त्वहरूलाई यस वर्ष विभिन्न सम्मानद्वारा विभूषित गर्ने निर्णय गरेको छ। बुधवार रानीपुलमा प्रतिष्ठानका अध्यक्ष कमल चामलिङको अध्यक्षतामा बसेको एक विशेष बैठकले उक्त निर्णय लिएको हो।
​आगामी ४ जुलाई, २०२६ का दिन रानीपुलमा आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधानको १७५औँ जन्म जयन्ती भव्य रूपमा पालन गरिने भएको छ। सोही समारोहको अवसर पारेर चारजना व्यक्तिहरूलाई प्रतिष्ठानको तर्फबाट सम्मानित गरिनेछ। प्रतिष्ठानले प्रत्येक वर्ष साहित्य, सङ्गीत, पत्रकारिता, अध्यात्म एवम् सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएका साधकहरूलाई सम्मानित गर्दै आएको छ।
​यस वर्षको ‘पादरी गङ्गाप्रसाद प्रधान पत्रकारिता सम्मान’ द्वारा वरिष्ठ पत्रकार तथा ‘सम्मिट टाइम्स’ (अङ्ग्रेजी दैनिक) का सम्पादक पुरण तामाङलाई सम्मानित गरिने भएको छ। पत्रकार तामाङले पछिल्लो दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा आफ्नो जीवन समर्पित गर्दै आएका छन्। यसै गरी, नेपाली साहित्य जगत्मा छन्दोबद्ध कविका रूपमा परिचित साहित्यकार गोपाल ढकाललाई ‘पादरी गङ्गाप्रसाद प्रधान साहित्य सेवा सम्मान’ प्रदान गरिने निर्णय लिइएको छ। अध्यात्म एवम् सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुऱ्याएबापत दार्जिलिङ-सिक्किम डायोसिसका विशप रेभ. एडवर्ड ब्यारेटोलाई ‘पादरी गङ्गाप्रसाद प्रधान अध्यात्म सम्मान’ अनि अध्यात्म सङ्गीतको क्षेत्रमा पुऱ्याएको योगदानका निम्ति पिटर शमसेरलाई ‘पाद्री गङ्गाप्रसाद प्रधान सङ्गीत सम्मान’ ले विभूषित गरिने भएको छ।
​आयोजित समारोहमा आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधानको बहुआयामिक योगदानबारे प्रख्यात साहित्यकार प्रवीण राई ‘जुमेली’-ले विशेष वार्ता प्रस्तुत गर्नेछन्। बैठकमा विस्तृत चर्चा-परिचर्चा गरिएपछि रानीपुलस्थित ‘एजी चर्च’-लाई कार्यक्रम स्थल तय गरिएको छ। यस विशेष बैठकको सञ्चालन मुख्य समन्वयक शिलास राईले गरेका थिए भने बैठकमा एल्डर पत्रुस गुरुङ, जिग्मी लेप्चा, रूपा तामाङ, लुकस शर्मा, पिटर समशेर, कलेप गजमेर, सामुएल सुब्बा, बीबी सोलोमन, मर्कुस लामा, टीएल तामाङ, छिरिङ टासी लेप्चा, मदन छेत्री, कर्मा पावल राई र प्रवीण खालिङ लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement