ग्याल्सिङ: सिक्किम सरकारका धार्मिक, जनस्वास्थ्य इन्जिनियरिङ एवम् जलस्रोत विभागका मन्त्री पूजनीय सोनाम लामाको निर्देशिकाबमोजिम धार्मिक विभागको एउटा उच्चस्तरीय सरकारी टोलीले पेलिङ अनि नाम्चीका प्रख्यात धार्मिक स्थलहरूको स्थलगत निरीक्षण गरेको छ। टोलीले ग्याल्सिङ जिल्ला अन्तर्गत पेलिङस्थित ‘चेनरेजिग शिङ्खम रिवो पोताला’ र नाम्ची जिल्लाको ‘सामद्रुप्चे’ पुगेर त्यहाँको वस्तुस्थितिको समीक्षा गरेको हो।धार्मिक विभागका विशेष सचिव सोनाम टी. तासीको अगुवाइमा निक्लिएको यस निरीक्षण टोलीमा विभागका सह-निर्देशक (गेन्द्रुङ) छिरिङ थेन्दुप भोटिया, अनुसन्धान अधिकारी डा. हिस्से वाङचुक भोटिया अनि विभागीय निरीक्षकहरू सामेल थिए।टोली पेलिङस्थित चेनरेजिग शिङ्खम रिवो पोताला परिसरमा आइपुग्दा त्यहाँका प्रभारी ङावाङ गोन्पोले उनीहरूलाई कलेज तथा गुम्बा परिसरको भ्रमण गराउँदै विस्तृत जानकारी गराए। यस क्रममा प्रभारी गोन्पोले परिसरभित्र तत्कालै मर्मत-सम्भार अनि जीर्णोद्धार गर्नुपर्ने विशिष्ट स्थानहरूबारे टोलीको ध्यानाकर्षण गराएका थिए। आगामी दिनहरूमा आयोजना हुन गइरहेको पवित्र धार्मिक अनुष्ठान ‘मणी द्रुब्डुप’-लाई कुनै बाधा-अड्चनबिना सुव्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्नका निम्ति यो पूर्व-तयारी निरीक्षण गरिएको विभागले जनाएको छ।यसपश्चात् उक्त टोली नाम्ची जिल्लाको सामद्रुप्चे प्रस्थान गरेको थियो। सामद्रुप्चेको आधिकारिक भ्रमणका क्रममा टोलीले त्यहाँका ओएसडी हिस्से दोर्जी अनि कार्यरत कर्मचारीहरूसँग भेटघाट गरी व्यवस्थापकीय पक्ष र क्षेत्रको आवश्यकताबारे गम्भीर छलफल गरेको धार्मिक विभागद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ।










