कुचबिहार: उत्तर लौचपाडामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ। शनिबार साँझ बामनहाट १ ग्राम पञ्चायत उत्तर लौचपाडा निवासी फोनी सेनको घरबाट आगलागी शुरू भएको बताइएको छ। आगो यसरी फैलियो कि घर पुरै जलेर खरानी भएको छ। छिमेकमा बस्ने ऐनुल मियाँ र जैनल मियाँ नामका दुई दाजुभाइको घरमा पनि आगो फैलिदा त्यो घर पनि जलेर खरानी भएको छ। खबर पाएलगत्तै दिनहाटा दमकलको गाडी घटनास्थलमा पुगेको थियो। तर, स्थानीय बासिन्दा र दमकलको सक्दो प्रयासका बावजुद पनि दुईवटा घर जलेर नष्ट भएको छ। यस घटनाले इलाकामा सनसनी फैलिएको छ। स्थानीयवासी सद्दाम हुसेनले प्रारम्भिक अनुमानको आधारमा सञ्चारमाध्यमलाई बताए अनुसार, विजुली सर्ट भएर आगलागी भएको र त्यसपछि भान्सा कोठामा आगो फैलिएर ग्यास सिलेन्डर पड्किएको हो, जसका कारण आगो द्रुत गतिमा फैलियो।










