२३ नोभेम्बरः मंगरटोला (निरपानी)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा एक समय २ गोलले पछाड़िए पनि असाधारण पुनरागमन गर्दै सिमलबारी एफसी-ले सेमिफाइनलमा स्थान बनायो। गोमा राई स्मृति विनर्स, चन्द्र बहादुर मंगर स्मृति रनरअप् अनि हर्क माया मुखिया स्मृति फेयर प्ले ट्रफी रहेको यस टुर्नामेण्टअन्तर्गत मगरटोला ग्राउण्डमा मंगलवार खेलिएको चौथो क्वार्टर फाइनल म्याचमा सिमलबारी एफसी-ले शक्तिशाली एमएमएफसी निरपानीलाई ३-२-ले पराजित गऱ्यो। अफ्रिकी मूलका खेलाड़ी सोंगले पहिलो हाफमै एमएमएफसी-लाई २ गोलको बढ़त दिलाए। दोस्रो हाफमा चाहिँ सिमलबारी एफसी-ले लड़ाकू प्रदर्शनको साथ जीत हासिल गऱ्यो। सिमलबारी एफसी-बाट शान्ता गुरुङले २ अनि विक्रम रानाले १ गोल गरे । दुई गोलको साथ एमएमएफसी-को बिदावारी सुनिश्चित गर्ने सिमलबारी एफसी-का शान्ता गुरुङलाई प्लेयर अफ द म्याच चयन गरियो। अब बुधवार हुने पहिलो सेमिफाइनलमा मारामार एफसी र शुभम सेभेनबीच भिड़न्त हुनेछ । यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट आकाश गहतराजले जानकारी दिएका छन्। टुर्नामेण्टको फाइनल २७ नोभेम्बरमा हुनेछ।









