गुवाहाटी: असम सरकारले बालिका र किशोरीहरूको स्वस्थ र सुरक्षित भविष्य सुनिश्चित गर्ने दिशामा एउटा ठुलो र ठोस कदम चालेको छ। पाठेघरको क्यान्सर (जरायु कर्कट/सर्वाइकल क्यान्सर) विरुद्ध लड्न असम सरकारले राज्यव्यापी रूपमा ह्युमन प्यापिलोमा भाइरस (एचपीवी) विरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ।
असमका मुख्यमन्त्री हिमन्त बिस्वा सरमाका अनुसार यस अभियानअन्तर्गत हालसम्म १ लाख ७ हजारभन्दा बढी बालिकाहरूलाई सफलतापूर्वक एचपीभी खोप लगाइसकिएको छ। सरकारले राज्यका ३ लाख २७ हजार बालिकाहरूलाई यो स्वास्थ्य सुरक्षाको दायराभित्र ल्याउने महत्त्वाकाङ्क्षी लक्ष्यका साथ काम अघि बढाएको छ।
मुख्यमन्त्री सरमाले सामाजिक सञ्जालमार्फत यस अभियानबारे जानकारी दिँदै भन्नुभएको छ, “असमका छोरीहरू रोकथाम गर्न सकिने रोगहरूको अवरोधबिना आफ्ना सपनाहरू पूरा गर्न सक्षम हुनुपर्छ। हाम्रा बालिकाहरूका लागि स्वास्थ्य र पाठेघरको क्यान्सरमुक्त भविष्य सुरक्षित गर्न हामी प्रतिबद्ध छौँ।”
उहाँले विशेष गरी पाठेघरको क्यान्सरविरुद्धको यो अभियानमा सामाजिक सचेतना, सुरक्षा र समयमै खोप लगाउनु नै सबैभन्दा ठुलो शक्ति हुने कुरामा जोड दिनुभएको छ।
चिकित्सकहरूका अनुसार महिलाहरूमा हुने पाठेघरको क्यान्सरको मुख्य कारण एचपीवी भाइरस नै हो, जसलाई समयमै खोप लगाएर पूर्ण रूपमा रोकथाम गर्न सकिन्छ।
असम सरकारको यो समयसापेक्ष कदमले आगामी पुस्ताका महिलाहरूलाई क्यान्सर जस्तो घातक रोगबाट जोगाउन कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ।









