गुवाहाटी: असममा बाढीको अवस्था झनै गम्भीर बन्दै गएको छ। राज्यमा बाढीका कारण मृत्यु हुनेको संख्या बढेर १३ पुगेको छ भने ११ जिल्लाका ३ लाख १३ हजारभन्दा बढी मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
छिमेकी पहाडी राज्यहरू, विशेषगरी नागाल्यान्डमा भइरहेको मुसलधारे वर्षा र बादल फाट्ने (क्लाउडबर्स्ट) घटनाका कारण आएको आकस्मिक बाढीले राज्यका धेरै प्रमुख नदीहरू खतराको तहभन्दा माथि बगिरहेका छन्।
असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) का अनुसार सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा चराइदेव, शिवसागर र जोरहाट रहेका छन्। शिवसागर जिल्लामा मात्रै करिब १ लाख ५८ हजार मानिस बाढीबाट प्रभावित भएका छन्। राज्यभर ७९४ गाउँ जलमग्न भएका छन् भने १९ हजार हेक्टरभन्दा बढी कृषि भूमि र करिब ६ लाख पशुचौपाया प्रभावित हुँदा ग्रामीण अर्थव्यवस्थामा ठूलो धक्का पुगेको छ।
ब्रह्मपुत्र, बुढीदिहिङ, दिखौ, दिसाङ र धनसिरीजस्ता प्रमुख नदीहरू विभिन्न स्थानमा खतराको तहभन्दा माथि बगिरहेका छन्। निरन्तर बढ्दो जलस्तरका कारण तल्लो क्षेत्रहरूमा डुबान र कटानको समस्या भयावह बनेको छ।
बाढीका कारण सडक तथा रेल यातायात पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। नाजिरा-गेलेकी सडक बगेपछि शिवसागर र नाजिराबीचको सम्पर्क विच्छेद भएको छ भने राष्ट्रिय राजमार्ग-७१५ जलमग्न भएको छ। सिमलुगुडी रेलवे स्टेशनको यार्डमा पानी जमेपछि पूर्वोत्तर सीमान्त रेलवेले ३० भन्दा बढी रेल सेवाहरू रद्द, मार्ग परिवर्तन वा छोट्याएर सञ्चालन गर्न बाध्य भएको छ।
प्रभावित क्षेत्रमा भारतीय सेना, वायुसेना, एनडीआरएफ र एसडीआरएफको टोली उद्धार कार्यमा जुटिसकेका छन्।
सरकारले स्थापना गरेका ५२ वटा राहत शिविरमा १२ हजारभन्दा बढी विस्थापितहरूले आश्रय लिइरहेका छन्। प्रशासनले नदी किनार र तल्लो क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अपिल गरेको छ।









