ईटानगर: अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डूले राज्यका वन तथा संरक्षित क्षेत्रहरूसँग सम्बन्धित दीर्घकालीन समस्याहरूको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। जनताका वास्तविक गुनासो र समस्याहरूलाई सम्बोधन गर्दै यस्ता विषयलाई लामो समयसम्म अल्झाइराख्न नहुने उनले बताएका छन्।
यसै सन्दर्भमा मुख्यमन्त्री खान्डूले भारतको सर्वोच्च अदालतद्वारा गठित सेन्ट्रल एम्पावर्ड कमिटीका अध्यक्ष चन्द्रप्रकाश गोयलसँग एक उच्चस्तरीय बैठक गरेका छन्।
उक्त महत्वपूर्ण बैठकमा प्रदेशका उपमुख्यमन्त्री चौना मेइन, भूमि व्यवस्थापन मन्त्री बालो राजा, वातावरण तथा वन मन्त्रालयका सल्लाहकार (विधायक) वाङलिन लोवाङदोङ, मुख्य सचिव मनिष गुप्ता र वरिष्ठ आईएफएस अधिकारी पी. सुब्रमण्यमको समेत उपस्थिति रहेको थियो। बैठकमा वन र संरक्षित क्षेत्रसँग जोडिएका विविध जटिल मुद्दाहरूमाथि गहन छलफल भएको जनाइएको छ।





