सिलगढ़ी: सिक्किमका ‘म्याराथन म्यान’ भनेर चिनिने चर्चित धावक अमर सुब्बाले प्रतिष्ठित ‘मुम्बई अल्ट्रा १२ आवर्स रन’-मा भाग लिन मंगलवार मुम्बई प्रस्थान गरेका छन्। यो ऐतिहासिक दौड़ प्रतियोगिताको आयोजन १५ अगस्तको दिन मुम्बईको दादरस्थित शिवाजी पार्कमा हुनेछ। गत वर्ष पनि यस कठिन चुनौतीलाई सफलतापूर्वक पूरा गरिसकेका सुब्बा यस वर्ष विशेष निमन्त्रणामा पुनः यस प्रतियोगितामा सहभागी हुन लागेका हुन्। यस प्रतियोगिताको सबैभन्दा विशेष पक्ष के छ भने, यो शत प्रतिशत परोपकारी (च्यारिटी) दौड़ हो, जसबाट संकलित रकम टाटा मेमोरियल अस्पतालमा क्यान्सर रोगसँग लड़िरहेका साहसी बालबालिकाहरूको उपचार र सहयोगमा खर्च गरिनेछ।’मुम्बई रनर्स’ समूहद्वारा आयोजित यो वार्षिक दौड़ प्रतियोगिता हरेक वर्ष भारतको स्वतन्त्रता दिवसको अवसरमा आयोजना हुने गर्छ। आफ्नो यस यात्रा र सहभागिताका लागि धावक अमर सुब्बाले पर्यटन मन्त्री छिरिङ टी भूटिया र २०औं छुजाचेन निर्वाचन क्षेत्र अन्तर्गत १२औं सुदुङलाखा, कोप्चेका सन्दीप गुरुङप्रति हृदयदेखि आभार प्रकट गरेका छन्।









