दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चाले भ्रष्टाचार विरुद्ध गरिरहेको धारावाहिक कार्यक्रमको दोस्रो चरणअन्तर्गत मंगलवार लालकोठीस्थित जीटीए सचिवालयमा पुगेर जीटीएका मुख्य सचिवसँग भेटघाट गरेको छ। उक्त भेटघाटका क्रममा पार्टीले पहाडमा जल जीवन मिशन योजनामा भएको आर्थिक घोटालाको निष्पक्ष छानबीन हुनुपर्ने माग राखेको छ। भेटघाटपछि पत्रकारहरूसँग कुराकानी गर्दै गोर्खा जनमुक्ति मोर्चाकी केन्द्रीय प्रवक्ता विनिता रोकाले जल जीवन मिशन अन्तर्गत पहाडका विभिन्न क्षेत्रमा सञ्चालन भएका योजनाहरूमा भएको अनियमितताबारे निष्पक्ष छानबिन गरी दोषीमाथि उचित कारबाही हुनुपर्ने पार्टीको माग रहेको बताइन्। उनले जीटीए पक्षबाट यस विषयमा सकारात्मक जवाफ प्राप्त भएको जानकारी दिँदै अब उक्त आश्वासनलाई व्यवहारमा उतार्दै आवश्यक छानबिन अनि कारबाही अघि बढाउनुपर्नेमा जोड दिइन्।
प्रवक्ता रोकाले यदि यस विषयमा कुनै ठोस पहल अथवा कारबाही नभए आगामी २६ नोभेम्बरका दिन पहाडभरि विराट जुलुस आयोजना गर्ने चेतावनी समेत दिएकी छन्। भ्रष्टाचार विरुद्ध आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै गोजमुमोले जल जीवन मिशनमा भएको अनियमितताको सत्य तथ्य सार्वजनिक हुनुपर्ने र जनताको अधिकार साथै सार्वजनिक सम्पत्तिको संरक्षण हुनुपर्ने माग अघि सारेको छ।





