नयाँ दिल्ली: दिग्गज विकेटकीपर-ब्याटर एमएस धोनीको खेलाड़ीको रूपमा आईपीएल (इण्डियन प्रीमियर लीग) करियरमा विराम लाग्यो। धोनीलाई उनको फ्रेञ्चाइजी चेन्नई सुपर किंग्स (सीएसके)-को मेण्टर नियुक्त गरिएको छ। आईपीएलको आउँदो सीजनको निम्ति १६ दिसम्बरमा गोवामा हुने लिलामी अघि खेलाड़ीहरू रिलीज र रिटेन गर्ने समय (डेडलाइन) समाप्त हुन ३ घण्टा अघि चेन्नईको फ्रेञ्चाइजीले धोनीलाई टोलीको मेण्टर नियुक्त गरिएको घोषणा गऱ्यो। यसरी धोनीलाई अब आईपीएलको मैदानमा खेलाड़ीको रूपमा नभएर डगआउटमा नयाँ भूमिकामा देखिनेछ। चेन्नई सुपर किंग्सलाई ५ पल्ट आईपीएल च्याम्पियन बनाउने धोनीले अब मेण्टरको भूमिकामा खेलाड़ीहरूलाई मार्गदर्शन गर्ने काम गर्नेछन्। धोनीको सीएसके-सँग अलग सम्बन्ध रहेको छ। उनी फ्रेञ्चाइजीको पहिचान बनिसकेका छन्। धोनीले आफ्नो फसेला र नेतृत्व क्षमताको साथ टोलीलाई अलग उँचाईमा पुऱ्याएका छन्। सीएसके-का मालिक एन श्रीनिवासनले पनि धोनीको महत्त्वबारे कुरा गरेका छन्। उनले पूर्व भारतीय कप्तान सदा फ्रेञ्चाइजीको पहिचानको महत्त्वपूर्ण हिस्सा रहने बताए। खेलाड़ीको रूपमा उनको भूमिका बदलिए पनि सीएसके-सँग उनको लगाव पहिला झैं मजबूत रहनेछ। धोनीलाई मेण्टर बनाउँदा टोलीलाई उनको लामो अनुभवको लाभ प्राप्त हुनेछ। विशेषगरी युवा खेलाड़ीहरूले उनको मार्गदर्शनमा खेल्ने अनि सिक्ने मौका पाउनेछन्। सीएसके-का मालिक श्रीनिवासनले धोनीसँग आफ्नो लगभग २ दशक लामो सम्बन्धलाई याद गरे। उनले भने, धोनी बिना सीएसके हुन सक्दैन। लगभग २ दशकसम्म हामी एकसाथ हिँड़्यौं, जीत-हार र उतार-चड़ाउ सबै देख्यौं। हाम्रो सम्बन्ध यति मजबूत हुने एउटा कारण पनि रहेको छ। हामी एकार्काको सोचमाथि प्रश्न उठाउँदैनौ। यसै भरोसाले यस यात्रालाई सम्भव बनाएको छ। श्रीनिवासनले २००८-मा भएको आईपीएलको पहिलो लिलामीलाई पनि याद गरे। उनले भने, मलाई २००८-को लिलामी अहिले पनि याद छ। मैले नै धोनीलाई टोलीमा सामेल गर्ने जिद गरेको थिएँ। त्यो मेरो अहिलेसम्मको सबैभन्दा असल फसेला साबित भयो। उनी असल नेता र खेलाड़ी मात्र नभएर असल व्यक्ति पनि हुन्। उल्लेखनीय छ, सीएसके-ले धोनीकै कप्तानीमा २०१०, २०११, २०१८, २०२१ र २०२३-मा ५ पल्ट आईपीएल खिताब जित्यो। यसको साथमा धोनीको कप्तानीमा फ्रेञ्चाइजीले २०१० र २०१४-मा अहिले बन्द भइसकेको च्याम्पियन्स लीग टी२०-को खिताब पनि जित्यो। आईपीएलको पहिलो १९ वटा सीजनमा धोनीले १७ वटामा सीएसके-को प्रतिनिधित्व गरे। सीएसके-माथि प्रतिबन्ध लागेको समय २०१६ र २००१७ सीजनमा चाहिँ धोनीले राइजिंग पुणे सुपरजाइण्ट्सको निम्ति खेलेका थिए। धोनीले आफ्नो आईपीएल करियरमा ३८.३०-को औसत र १३७.४५-को स्ट्राईक रेटले ५४३९ रन बनाए। आईपीएलको १२ वटा सीजनमा सीएसके-को कप्तानी गरेपछि धोनीले रवीन्द्र जडेजालाई २०२२-मा कप्तानी सुम्पिएका थिए तर लगातार खराब प्रदर्शनपछि त्यस सीजनको बीचमा उनी फेरि कप्तानीमा फर्किएका थिए। आईपीएल २०२५ अघि सीएसके-ले धोनीलाई अनक्याप्ड खेलाड़ीको रूपमा रिटेन गरेको थियो कारण उनले अन्तर्राष्ट्रिय क्रिकेट खेल्नु छोड़ेको ५ साल पूरा भइसकेको थियो। ४५ वर्षीय धोनीले अब सीएसके-को नयाँ कोचिंग टीमसँग काम गर्नेछन्, जसमा जहीर खान मुख्य प्रशिक्षक हुनेछन्। यसरी सहायक प्रशिक्षकको भूमिकामा एल्बी मोर्कल, गेरेथ बेटी र श्रीधरण श्रीरामको साथमा बलिंग प्रशिक्षक मोहित शर्मा र फील्डिंग प्रशिक्षक जेम्स फोस्टर सामेल छन्।





