सोलु: नेपाल सरकारले आगामी जनबरी १ देखि लागू हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्जले सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उडानमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा खुम्बु क्षेत्रमा रहेका स्थानीय सरोकारवाला सरकारी गैरसरकारी संघ/संस्थाहरुको मंगलबार बसेको बैठकले हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
अब पर्यटक तथा स्थानीयको उद्धार तथा मालसामान ढुवानी बाहेक व्यावसायिक रूपमा हेलिकप्टर उडाउन पाइने छैन। हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको भन्दै व्यावसायिक हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो।
हेलिकप्टर उडानबाट खुम्बु क्षेत्रको स्थानीय व्यापार, व्यवसाय तथा रोजगारीमा समेत नकारात्मक असर परेको जनगुनासो रहेको कार्यालयले जनाएको छ।









