कोलकाता: कोलकाता पुलिसले कथित ‘जनहित याचिका-जबरजस्ती फिरौती’ घोटालाको सम्बन्धमा प्रवर्तन निदेशालयका एक वरिष्ठ अधिकारीलाई नोटिस पठाएको छ। पुलिसले यस मामिलामा झारखण्डका एक वकिललाई यसअघि नै पक्राउ गरिसकेको छ। केन्द्रीय एजेन्सीले पश्चिम बङ्गालमा करोडौंको भर्ती घोटालाको अनुसन्धान गरिरहेको र राज्यका पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जीलाई पक्राउ गरेको बेला बङ्गाल पुलिसले ईडी अधिकारीलाई नोटिस पठाएको छ।
कोलकाता पुलिसका एक वरिष्ठ अधिकारीले भुवनेश्वरस्थित संघीय एजेन्सीका संयुक्त निर्देशक सुबोध कुमारलाई नोटिस पठाइएको बताए। सुबोध कुमार २०१६ देखि २०२२ सम्म राँचीमा पोस्ट भएका थिए। उनको केही महिनाअघि ओडिशा सरुवा भएको थियो। कोलकाता पुलिसले झारखण्डका एक वकिल राजीव कुमारलाई शहरका एक व्यापारीसँग जबरजस्ती फिरौती गरेको आरोपमा पक्राउ गरेको थियो। उनको साथबाट ५० लाख नगद बरामद भएको छ। आरोपीले कथित रुपमा जनहित याचिकाहरुमा मानिसहरुलाई प्रतिवादी बनाएर उनीहरुबाट रुपियाँ वसुल्ने गरेको अनि केन्द्रीय एजेन्सीद्वारा उनह्तुको घर र कार्यालयहरुमा छापा मारेर उनीहरुलाई धम्काउने गरेमो आरोप छl कोलकाता पुलिसको जासूस विभागका एक वरिष्ठ अधिकारीले भने, ‘आरोपीले २०२१ मा राँची उच्च अदालतमा जनहित याचिका दायर गरेका थिए जसमा कोलकाताका एक व्यापारीलाई प्रतिवादी बनाइएको थियो। उनले जनहित याचिकाबाट आफ्नो नाम फिर्ता लिन व्यापारीसँग १० करोड रुपियाँ मागेका थिए। वकिलले त्यसो नगरे केन्द्रीय निकायमा लगेर व्यापारीको घरमा छापा मार्ने धम्कीसमेत दिएका थिए। वार्तापछि उनीहरुले रकम घटाएर ४ करोडमा राखे र अन्ततः १ करोडमा सम्झौता भयो। उनी ५० लाख रुपियाँ लिन कोलकाता आएका थिएl’
अभियुक्त राजीव कुमार झारखण्ड उच्च अदालतमा पेशाले वकिल हुन्। उनी सार्वजनिक सरोकारको मुद्दा दायर गर्ने भनेर चिनिन्छन्। उनी हाल मुख्यमन्त्री हेमन्त सोरेनविरुद्ध शिवशंकर शर्माले दायर गरेको दुई जनहित याचिकाका वकिल हुन्। यी याचिकाहरूले झारखण्डका मुख्यमन्त्रीको खानी पट्टा र उनका सहयोगीहरूद्वारा संचालित कथित शेल कम्पनीहरूमा सीबीआई जाँचको माग गरेका छन्। उनी मनरेगा घोटालासँग सम्बन्धित याचिकाकर्ता अरुण कुमार दुबेका सल्लाहकार पनि हुन् जसमा ईडीले निलम्बित माइन सचिव पूजा सिंघललाई पक्राउ गरेको थियो।
कोलकाता शहर पुलिसले हालै राँचीका केही ठाउँहरूमा छापा मारेको थियो र दावी गरेको थियो कि आरोपीसँग राँची, नोएडा र दिल्लीमा फ्ल्याट, अफिस र फार्महाउसहरूसहित धेरै सम्पत्तिहरू छन्। ‘इडी अफिसरको नाम सोधपुछको क्रममा आयो र आरोपीको च्याट हिस्ट्री र कल लगले उसले अफिसरसँग धेरै पटक कुरा गरेको खुलासा गरेको छ,’ कोलकाता पुलिसका एक अधिकारीले भने। कुमारलाई सोधपुछ गर्न कोलकाता पुलिसको टोली मङ्गलबार ओडिशाको भुवनेश्वर पुग्ने अपेक्षा गरिएको छ। यसअघि पनि कोलकाता पुलिसले अडियो टेप लीक प्रकरणमा ईडीका तीन अधिकारीलाई बोलाएको थियो। गाईवस्तु तस्करी र कोइला घोटाला जस्ता विषयहरूमा ईडी अधिकारीसँग कुरा गरेको कथित अडियो क्लिपमा सुनिएको एक व्यापारीविरुद्ध पुलिसले मुद्दाको अनुसन्धान गरिरहेको थियो। यो च्याट २०२१ पश्चिम बङ्गाल विधानसभा चुनाव अघि लीक भएको थियो।











