गुजरात गेस्टहाउसदेखि दिल्लीसम्म एनसीबी को छापा
नयाँ दिल्ली: भारतको केन्द्रीय लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले अन्तर्राष्ट्रिय लागुऔषध तस्कर र चरमपंथी नेटवर्कविरुद्ध देशकै इतिहासकै सबैभन्दा ठूलो र पहिलो अपरेसन सफल पारेको छ। ब्यूरोले ‘अपरेसन रेजपिल’ अन्तर्गत देशमा पहिलो पटक अत्यधिक खतरनाक सिन्थेटिक ड्रग ‘क्याप्टागन’ को ठूलो खेप बरामद गरेको हो। जफत गरिएको २२७.७ किलोग्राम क्याप्टागन ट्याब्लेट र पाउडरको अन्तर्राष्ट्रिय बजार मूल्य करिब १८२ करोड भारतीय रुपैयाँ रहेको छ। यस अन्तर्राष्ट्रिय गिरोहमा संलग्न एक सिरियाली नागरिकलाई दिल्लीबाट पक्राउ गरिएको छ।
गुजरातको मुन्द्रा पोर्टदेखि दिल्लीसम्मको अप्रेशन
सुरक्षा निकायका अनुसार यो अपरेसन मानव संशाधन र डिजिटल सर्भिलेन्स (विद्युतीय निगरानी) को संयुक्त प्रयासमा आधारित थियो। सुरुमा दिल्लीको नेब सराय क्षेत्रबाट एक सिरियाली नागरिकलाई नियन्त्रणमा लिइयो, जो नोभेम्बर २०२४ मा पर्यटक भिसामा भारत प्रवेश गरेका थिए र भिसा अवधि सकिएपछि पनि अवैध रूपमा बसेर यो नेटवर्क चलाइरहेका थिए।
पक्राउ परेका अभियुक्तको बयानका आधारमा गत मे १४, २०२६ मा गुजरातको प्रसिद्ध मुन्द्रा पोर्टमा छापा मारिएको थियो। सिरियाबाट आयात गरिएको उक्त कन्टेनरमा ‘भेडाको ऊन’ ल्याइएको भनी घोषणा गरिएको थियो। तर, कडा सुरक्षा जाँचका क्रममा ऊनका बोराभित्र लुकाएर राखिएको १९६.२ किलोग्राम क्याप्टागन पाउडर बरामद भयो। अनुसन्धानबाट यो खेप भारतको भूमिलाई ट्रान्जिट बनाएर साउदी अरब र अन्य खाडी मुलुकहरूमा तस्करी गर्ने उद्देश्यले ल्याइएको खुलेको छ।
गृहमन्त्री अमित शाहको चेतावनी: भारतलाई लागुऔषधको ‘ट्रान्जिट रूट’ बन्न दिइने छैन
भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत यस ऐतिहासिक सफलताको पुष्टि गर्दै एनसीबीका जवानहरूको प्रशंसा गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “मोदी सरकार ‘लागुऔषधमुक्त भारत’ निर्माणका लागि पूर्ण रूपमा प्रतिबद्ध छ। ‘अपरेसन रेजपिल’ मार्फत हाम्रा एजेन्सीहरूले १८२ करोड रुपैयाँ बराबरको कथित ‘जिहादी ड्रग’ क्याप्टागनको पहिलो खेप बरामद गरेको जानकारी दिन पाउँदा खुसी लागेको छ। मध्यपूर्व लैजाँदै गरिएको यो खेप रोक्नु र विदेशी नागरिक पक्राउ पर्नु लागुऔषधविरुद्ध हाम्रो ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) नीतिको उत्कृष्ट उदाहरण हो। म पुनः दोहोर्याउँछु, भारतमा भित्रिने वा हाम्रो भूमिलाई ट्रान्जिट बनाएर बाहिर जाने लागुऔषधको हरेक ग्राममाथि कडा कारबाही गरिनेछ।”
के हो क्याप्टागन र यसलाई किन ‘जिहादी ड्रग’ भनिन्छ?
क्याप्टागन वास्तवमा फेनेथिलिन र एम्फेटामिन मिश्रण गरेर बनाइने एक अत्यन्तै कडा सिन्थेटिक उत्तेजक ड्रग हो। अन्तर्राष्ट्रिय बजारमा यसलाई “गरिबको कोकिन” पनि भनिन्छ, किनभने यसको उत्पादन लागत निकै कम हुन्छ तर माग र मूल्य अत्यधिक हुन्छ।
मध्यपूर्वका युद्धग्रस्त क्षेत्रहरू, विशेष गरी सिरिया र इराकमा सक्रिय इस्लामिक स्टेट (आईएसआईएस) जस्ता चरमपंथी संगठनका लडाकुहरूले युद्धको समयमा यसको व्यापक प्रयोग गर्ने गर्छन्। यो ड्रग सेवन गरेपछि मानिसको केन्द्रीय स्नायु प्रणालीमा यस्तो असर पर्छ कि उसलाई कैयौँ दिनसम्म भोक, प्यास, थकाइ, दुखाइ वा डरको महसुस हुँदैन। यसले लडाकुहरूमा अत्यधिक आक्रामकता र हिंसात्मक व्यवहार बढाउँछ, जसका कारण उनीहरू बिना कुनै डर र हिचकिचाहट लामो समयसम्म लडिरहन सक्छन्। यही विशेषताका कारण यसलाई ‘जिहादी ड्रग’ भनिएको हो। सुरक्षा एजेन्सीहरूका अनुसार यो ड्रगको अवैध व्यापारबाट हुने अर्बौँको आम्दानी सिधै हतियार खरिद र आतङ्ककारी गतिविधिमा लगानी हुने गर्दछ।









