टेमी तारकु: सिक्किमको टेमी-नामफिङ अनि अरुणाचल प्रदेशको मेबो विधानसभा निर्वाचन क्षेत्रबीच आपसी सहकार्य र पर्यटन प्रवर्द्धनका निम्ति एउटा ऐतिहासिक समझदारी पत्र हस्ताक्षर भएको छ। दुवै क्षेत्रबीच ‘सिस्टर कन्सिटच्युएनसी’ (भगिनी निर्वाचन क्षेत्र) साझेदारी स्थापना गर्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो। टेमी-नामफिङ निर्वाचन क्षेत्रका विधायक बेदु सिंह पन्थ अनि अरुणाचल प्रदेशको मेबो विधानसभा क्षेत्रका विधायक ओकेन तायङले यस समझदारी पत्रमा आधिकारिक हस्ताक्षर गरेका छन्।
शनिबारका दिन टेमी तारकुमा सुरु भएको पहिलो तीन दिवसीय ‘अन्तर्राष्ट्रिय एग्रो-टुरिजम फेस्टिभल’ (कृषि-पर्यटन उत्सव) को भव्य उद्घाटन समारोहको अवसर पारेर यो महत्त्वपूर्ण सम्झौता गरिएको हो। टेमी तारकुमा सम्पन्न भएपछि यो कृषि-पर्यटन महोत्सव सिक्किमको मार्तम अनि रिनकमा पनि आयोजन गरिने जानकारी गराइएको छ।
यस महोत्सवमा सिक्किमका पर्यटन सरोकारवालाहरू (स्टेकहोल्डर्स) का साथै छिमेकी देश भुटान, नेपाल अनि भारतका अरुणाचल प्रदेश र पश्चिम बङ्गालका प्रतिनिधिहरूले उत्साहजनक रूपमा भाग लिइरहेका छन्।
आगामी तीन वर्षका निम्ति गरिएको यस ऐतिहासिक सम्झौताको मुख्य उद्देश्य दुवै क्षेत्रबीच सांस्कृतिक आदानप्रदान, कृषि क्षेत्रमा सहयोग, परम्परागत जातीय परिकार, चाडपर्व अनि समुदायमा आधारित पर्यटन (कम्युनिटी बेस्ड टुरिजम) लाई बढावा दिनु रहेको छ। यस साझेदारीले दिगो पर्यटन विकासमा जोड दिँदै स्थानीय समुदायका निम्ति जीविकोपार्जनका नयाँ अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको छ।











