जनताको जनआकांक्षा पूरा गर्न जीटीए बाधा नहोस्: अनित थापा
दार्जीलिङ: गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन जीटीएका प्रमुख अनित थापाले जीटीए चीफ तथा सभासद् पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। जनताको दीर्घकालीन आकांक्षा र गोर्खा समुदायको अधिकार प्राप्तिका लागि आफूले यो कदम चालेको उनले बताएका छन्। उनले आज एउटा भिडियो जारी गर्दै आफ्नो सम्बोधनमा थापाले गोर्खाहरूको जनाकांक्षा पूरा हुनु आवश्यक रहेको उल्लेख गर्दै शान्तिपूर्ण, लोकतान्त्रिक तथा संवैधानिक पद्धतिमार्फत सरकारलाई जनभावना सम्बोधन गर्न आग्रह गरे। उनले जनताको आवाजलाई सम्मान गर्दै समस्याको स्थायी समाधान खोज्न सबै पक्षलाई एकजुट हुन अपीलसमेत गरेका छन्। उनले सबै सभासदहरुलाई आग्रह गर्दै भने, यही सही समय हो जीटीए छोड्ने कारण अहिले केन्द्र र राज्यमा डबल इञ्जिनको सरकार छ र जनआकांक्षा पूरा हुने सबेले आशा गरेको छ। त्यसैेले सरकारले दिन्छु भनेकोले जनताको जनआकांक्षा पूरा गर्न जीटीए बाधा नहोस्।
थापाको राजीनामापछि पहाडको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। यस घटनाले आगामी दिनमा पहाडको राजनीतिक समीकरण र गोर्खा मुद्दाको दिशामा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा चासो बढेको छ। यसैबीच विभिन्न राजनीतिक दल तथा सामाजिक सङ्गठनहरूले थापाको निर्णयप्रति प्रतिक्रिया दिन थालेका छन् भने पहाडको भविष्य र गोर्खा जनाकांक्षाको सम्बोधनका विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।










