एसीसी प्रिमियर लिग – नेपालको लगातार तेस्रो जित

98c6b8fb-d34e-4202-8b78-72acc79b2988

काठमाडौं: नेपाल एसीसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’मा नेपालले लगातार तेस्रो जित हात पारेको हो। यस जितसँगै नेपालले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ।
मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले आज साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको छ। यसअघि नेपालले आफ्नो पहिलो खेलमा बहराइन र दोस्रो खेलमा आयोजक मलेसियालाई पराजित गरेको थियो।
साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४१ ओभरमै पूरा गर्‍यो। नेपालका लागि गुलशन झाले अविजित ४४ रन बनाए। उनले ३५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाएका हुन्। रोहितकुमार पौडेल २४ रनमा अविजित रहे।
यसअघि ओपनरद्वय अर्जुन कुमाल १५ रन र आसिफ शेख २० रनमा आउट भएका थिए। देव खनालले ५८ बलमा ३९ रन तथा इशान पाण्डेले ५९ बलमा ४० रन बनाए। दीपेन्द्रसिंह ऐरी ५ रन बनाएर आउट भए।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए। नेपालले साउदी अरेबियालाई १९० रनमा अलआउट गरेको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए।
अब नेपालले समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर ८ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल सेप्टेम्बर १० मा हुनेछ भने तेस्रो स्थानको खेल र फाइनल सेप्टेम्बर १२ मा हुनेछ।

About Author

Advertisement