खरसाङ: गोर्खाल्याण्डको मुद्दामा सबै पक्षलाई समेट्नु पर्ने खरसाङका सन्दीप ‘गोर्खा’ प्रधानले बताएका छन्। उनले गैर राजनीतिक युवा तथा जेन जी समूह ‘गोर्खाको सपना’ का सदस्य सन्दीप ‘गोर्खा’ प्रधानले गृहमन्त्री, पश्चिम बंगालका मुख्यमन्त्री तथा भाजपा गठबन्धनका दलहरूबीच भएको बैठकप्रति प्रश्न उठाएका छन्। प्रधानले उक्त भेटघाटलाई आधिकारिक बैठक नभई भाजपा र उसका गठबन्धन दलहरूको सीमित भेटघाट मात्र भएको दाबी गरेका छन्। गोर्खाल्याण्डको मुद्दामा आधिकारिक रूपमा छलफल गर्ने हो भने पहाडमा जनमत रहेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र इन्डियन गोर्खा जनशक्ति फ्रन्टलगायत अन्य क्षेत्रीय दललाई पनि सहभागी गराउनुपर्ने उनले बताएका छन्। उनले दार्जीलिङ, खरसाङ र कालेबुङ विधानसभा क्षेत्रको पछिल्लो चुनाव परिणामको उल्लेख गर्दै गोर्खाल्याण्डको मुद्दामा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। यसका साथै जीटीएमा भ्रष्टाचारसम्बन्धी छानबिनका लागि ईडी र सीबीआई परिचालन गर्ने विषयमा उठेको भनाइप्रति प्रश्न गर्दै उनले छुट्टै गोर्खाल्याण्ड राज्यको मागका लागि सबै एकजुट हुन आह्वान् गरेका छन्।









