नाम्चीः ३२औं नेपाली भाषा मान्यता दिवस पालन गर्नको लागि गत १६ जुलाईको दिन स्थानीय मङ्गलबारे उच्चतर माध्यमिक पाठशालामा दोस्रो सभा सम्पन्न भयो। सो सभाको अध्यक्षता वरिष्ठ नागरिक नवराज प्रधानले गरेका थिए।
स्फुरण साहित्य प्रकाशन, नेपाली भाषा मान्यता दिवस समारोह समिति अनि एसएल दाउ ग्याछो वरिष्ठ माध्यमिक विद्यालय, मङ्गलबारेको संयुक्त तत्वावधानमा सो कार्यक्रम आयोजन हुने बताइएको छ। दुइदिने कार्यक्रम १८ र २० अगस्तमा हुनेछ।
खुल्ला नेपाली कविता, विद्यालय स्तरको चित्र लेख प्रतियोगिता, हस्तलिपि, हाजिरी जवाफ प्रतियोगिता र नेपाली, भोटिया, लेप्चा, राई, तामाङ अनि मगर भाषामा कविता प्रतियोगिता आयोजन गरिने छ।
समाजमा प्रशंसनीय योगदान दिने व्यक्तित्वलाई अभिनन्दन र नेपाली अनि अन्य भाषामा दशौं र बाह्रौं श्रेणीको बोर्ड परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रशंसा पत्र पनि प्रदान गरिने छ। नेपाल पोइट आइडल नीलम गुरुङलाई सम्मान गरिने छ।
उल्लेखनीय छ, सभाले नेपाली भाषा-साहित्य सेवक तथा जनपक्ष प्रकाशनका मालिक पुञ्यप्रसाद शर्मा अनि साहित्यकार एवं प्रक्रिया पत्रिकाका सम्पादक वीरभद्र कार्कीढोलीलाई “स्फुरण साहित्य सम्मान“-द्वारा अलङ्कृत गरिने निर्णय गरेको छ।
सभामा स्फुरण साहित्य प्रकाशनका अध्यक्ष वीरबहादुर गुरुङ, पाठशाला प्रभारी गौरीमान थापा, समारोह समितिका अध्यक्ष कवि सन्तोष आले, उपाध्यक्ष साहित्यकार सोनाम दोङ, खण्ड विकास अधिकारी वसन्त मोक्तान, कोषाध्यक्षद्वय अशोक दोङ, भीममाया मगर, सल्लाहकार रामबहादुर कार्की अनि अन्य सक्रिय सदस्यहरुको उपस्थिति रहेको थियो।