सिलगढी। मतिगढा थाना अन्तर्गत पर्ने खोलाईबत्री इलाकास्थित एउटा ग्यारेजमा मेट्रोपोलिटन पुलिसले डिटेक्टिभ डिपार्टमेन्ट (डीडी)-ले अभियान चलाएर लाखौँ रुपियाँको प्रतिबन्धित कफ सिरप तथा नशालु टयाबलेट उद्धार गरेको छ। डीडीले ग्यारेजबाट लगभग ७०० बोतल कफ सिरप र ९ हजार ३५० पीस नशालु टयाबलेट उद्धार गरेको छ। जसको अनुमानिक बजार मूल्य २ लाख रुपियाँ रहेको बताइएको छ। डीडी-ले यस मामिलामा एकजना युवकलाई पनि पक्राउ गरेको छ। पक्राउ परेका युवक सिलगढीको ३ नम्बर वार्ड इलाका निवासी राजा हासमीको रुपमा चिन्हित गरिएको छ।
डीडी सूत्रले दिएको जानकारीअनुसार जफत गरेको उक्त प्रतिबन्धित कफ सिरप र नशालु टयाबलेट ग्यारेजमा जम्मा गरेर राखेको थियो भने त्यहाँबाट सिलगढीको बजारहरूमा पुऱ्याउने गर्दथ्यो। डीडीले पक्राउ परेका आरोपी राजा हासमीलाई मतिगढा थानालाई सुम्पदिएपछि आज तिनलाई सिलगढी अदालतमा पेश गरियो।