१५ जुलाईः सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचले आशानुरुप प्रदर्शन गर्दै विम्बल्डन टेनिस च्याम्पियनशीपको फाइनलमा स्थान बनाए। जोकोविचले पुरुष एकलको सेमिफाइनलमा इटलीका यानिक सिनरलाई पराजित गरी नवौंपल्ट विम्बल्डनको फाइनलमा पुगे। वर्तमान च्याम्पियन जोकोविचले आठौं वरीयता प्राप्त सिनरलाई तीन सेटमा ६-३, ६-४, ७-६ (७-४)-ले पराजित गरे। फाइनलमा उनको भिड़न्त स्पेनका युवा खेलाड़ी कार्लोस अल्काराजसँग हुनेछ। विश्वका नम्बर एक खेलाड़ी अल्काराजले रुसका दानिल मेदवेदेवलाई सजिलै पराजित गरी फाइनलमा स्थान बनाए। लगभग एकतर्फी म्याचमा अल्काराज ६-३, ६-३, ६-३-ले विजयी भए। सिनरलाई पराजित गरी जोकोविचले ३५औं पल्ट ग्राण्ड स्ल्यामको फाइनलमा स्थान पक्का गरे। सर्बियाई खेलाड़ीको नाममा रेकर्ड २३ वटा ग्राण्ड स्ल्याम खिताब रहेको छ। सेमिफाइनलमा जोकोविचले शुरुदेखि नै आक्रामक मिजासमा खेल्दै असाधारण टेनिस खेले। म्याचको अवधि उनले अम्पायरसँग बहस गर्नको साथै दर्शकहरूलाई पनि जवाफ दिए। वास्तवमा विम्बल्डनको सेण्टर कोर्टमा अधिकांश दर्शकले नै सिनरको समर्थन गरिरहेका थिए। अहिले उनी रेकर्ड आठौंपल्ट विम्बल्डनको खिताब जित्नदेखि केवल एक जीत टाढ़ा रहेका छन्। विम्बल्डनमा सर्वाधिक आठपल्ट ट्रफी जित्ने रेकर्ड रोडर फेडररको नाममा रहेको छ। टेनिस इतिहासमा सर्वाधिक ग्राण्ड स्ल्याम जित्नेहरूका सूचीमा (पुरुष र महिला दुवै) जोकोविच अहिले २३ वटा खिताबको साथ दोस्रो स्थानमा रहेका छन्। यस सूचीमा अष्ट्रेलियाकी मार्गरेट कोर्ट (२४ वटा ग्राण्ड स्ल्याम खिताब) पहिलो स्थानमा रहेकी छन्।