नयाँ दिल्ली: हरियाणा, हिमाचल प्रदेश र पंजाबमा बाढ़ीले जुन अवस्था बनाएको छ, त्यसमा मानवीय सहायता र आपदा राहत कार्यको निम्ति भारतीय वायु सेना पनि सक्रिय रूपमा सामेल भएको छ। वायु सेनाका विमानहरूले बितेको ४८ घण्टाभित्रमा ४० पटकसम्म उड़ेर १२६ मानिसहरूलाई बचाएका छन्। बाढ़ी प्रभावित विभिन्न क्षेत्रहरूमा १७ टन राहत सामग्री वितरण गरिएको छ।
घनघोर वर्षाको कारणले आएको बाढ़ीले पार्वतीय क्षेत्रदेखि लिएर मैदानसम्मको स्थिति दयनीय भएको छ। हरियाणाको हथिनी कुण्ड ब्याराजबाट ३ लाख क्यूसेकभन्दा अधिक पानी यमुना छोड़ेको कारणले राजधानी दिल्लीका कतिपय क्षेत्रहरूमा पानी भरिएको छ। सबैभन्दा दयनीय अवस्था त हिमाचल प्रदेशको भएको छ जहाँको कुल्लु घाटीमा बाढ़ी आएर स्थिति चिन्ताजनक भएको छ। पंजाबका नदीहरूमा बाँध भत्किरहेको छ। हिमाचलमा अस्सीजनाले ज्यान गुमाइसकेका छन् भने चण्डीगढ़मा दशजनाको मृत्यु भइसकेको छ। यमुना र घग्गर नदीको जलस्तर बढ़ेर हरियाणाका केही जिल्लाहरू बाढ़ीग्रस्त भएका छन्। केन्द्र सरकारले बाढ़ीको सामना गर्नको लागि पंजाबको लागि २१८.४० करोड़ रुपियाँ जारी गरेको छ।
वायु सेनाका विङ्ग कमाण्डर आशीष मोघेले बताए, वर्तमान बाढ़को स्थितिलाई ध्यानमा राखेर हरियाणा, हिमाचल प्रदेश र पंजाब राज्यमा मानवीय सहायता र आपदा राहत कार्यहरूमा वायु सेना पूर्णरूपले सामेल भएको छ। उनले अझ बताए, बितेको २४ घण्टामा हरियाणाका बाढ़ प्रभावित क्षेत्रहरू क्रमैले निहारा, अलाउद्दीन माजरा, बिशनगढ़, सेगटा, भुन्नी, मुमनी, सेगटी एवं जनसुई गाउँमा ठूलो अपरेशन चलाएर एम-१७ हेलिकप्टरको माध्यमबाट राशन, तिरपाल च्यादर, ताजा भोजन र पानीका बोतलहरू सहित राहत सामग्री प्रदान गरियो। एम-१७, चिनूक हेलिकप्टर तथा एएन-३२ र सी-१३० परिवहन विमान आवश्यक संचालनको लागि स्ट्याण्डबायमा छ। -हिस