सिलगढी: वर्षाका कारण डिस्टिलरीको पर्खाल भत्किएको छ र कारखाना भित्रको फोहोर पानी क्षेत्रका घरहरूमा पसेको छ। बिहीबार भएको घटनाबाट आक्रोशित स्थानीयवासीले कारखानाको गेटमा ताला झुण्डाएर विरोध प्रदर्शन गरेका छन्। बुधबार राति परेको अविरल वर्षाका कारण ठाकुरनगर क्षेत्रमा रहेको मदिरा कारखानाको पर्खालको केही भाग भत्किँदा कारखाना भित्रको फोहोर पानी सो क्षेत्रका घर–घरमा पसेको हो । त्यसयता यहाँका बासिन्दा दुर्गन्धले हैरानीमा परेका छन् । यो विषालु फोहोर पानी घरघरका इनारमा समेत पसेको आरोप छ भने हात खुट्टामा फोहोर पानी पर्दा छाला रोग लाग्ने खतरा रहेको छ । यसअघि कारखाना सञ्चालकलाई पनि यस विषयमा जानकारी गराए पनि कुनै कारबाही गरेनन्। बिहीबार स्थानीयले मदिरा कारखाना अगाडिको गेटमा ताला लगाएर लामो समय विरोध गरेका थिए । घटनाको जानकारी पाएलगत्तै एनजेपी पुलिस चौकीको पुलिस घटनास्थल पुगेको थियो । पुलिसको हस्तक्षेपले स्थिति नियन्त्रणमा आएको थियो ।