१३ जुलाईः बेलारुसकी आर्यना सबालेंकाले लगातार चौथो ग्राण्ड स्ल्यामको सेमिफाइनलमा स्थान बनाइन्। उनले क्वार्टर फाइनलमा २५औं वरीयता प्राप्त अमेरिकी खेलाड़ी मेडिसन कीजलाई सजिलैसँग ६-४, ६-२-ले पराजित गरी विम्बल्डन टेनिस च्याम्पियनशीपको सेमिफाइनलमा प्रवेश गरिन्। यसरी नै गत विजेता कजाखस्तानकी एलीना रायबाकिनालाई गत उपविजेता ट्यूनिशियाकी ओन्स जेब्यूरले तीन सेटमा ६-७ (५), ६-४, ६-१-ले पराजित गरी सेमिफाइनलमा स्थान बनाइन्। दोस्रो वरीयता प्राप्त सबालेंका अहिले असाधारण फर्ममा रहेकी छन्। उनले यस सालको शुरुवातमा अष्ट्रेलियन ओपनको रूपमा आफ्नो पहिलो ग्राण्ड स्ल्याम खिताब जितेकी थिइन्। त्यसपछि फ्रेञ्च ओपनमा उनी सेमिफाइनलमा पुगेकी थिइन। यसअघि उनी २०२२-को अन्तमा यूएस ओपनको पनि सेमिफाइनलमा पुगेकी थिइन्। दह्रिलो डालकी सबालेंकालाई विम्बल्डनमा खिताब जित्ने प्रबल दावेदार मानिएको छ। उनको सर्विस पुरुषहरूभन्दा कम्ती छैन अनि उनको ग्राउण्ड स्ट्रोक पनि शक्तिशाली छ। साल २०१७-मा यूएस ओपनमा उपविजेता रहने मेडिसन कीज २०१५-मा विम्बल्डनको क्वार्टर फाइनलमा पुगेकी थिइन् अनि यसपाली सेमिफाइनलमा प्रवेश गर्ने प्रयासमा रहेकी थिइन् तर सबालेंकाले उनको सपना पूरा हुन दिइनन्। यसरी जेब्यूरले रायबाकिनासँग गत साल फाइनलमा हारको हिसाब चुक्ता गरिन्।