अश्विनको अभूतपूर्व रेकर्ड, भारत असल स्थितिमा

IMG-20230713-WA0245.jpg

१३ जुलाईः भारतीय अफ् स्पिनर रविचन्द्रन अश्विनले बुधवार वेष्ट इण्डिज विरुद्ध पहिलो टेस्ट म्याचको पहिलो दिन नै अभूतपूर्व रेकर्ड बनाए। अश्विन टेस्ट क्रिकेटमा पिता र पुत्र दुवैलाई आउट गर्ने पहिलो भारतीय बलर बने। बुधवार टेस्ट म्याचको पहिलो दिन अश्विनले विपक्षी ब्याटर टेगनारिन चन्द्रपललाई आउट गरी रेकर्ड बनाए। टेगनारिनले १२ रन बनाए। अश्विनले यसअघि टेगनारिनका पिता तथा वेष्ट इण्डिजका दिग्गज ब्याटर शिवनारायण चन्द्रपललाई पनि आउट गरेका थिए। अश्विन बाहेक ईंग्ल्याण्डका इयान बोथमले पनि लान्स र क्रिस केयर्न्सको पिता-पुत्रको जोड़ीलाई आउट गरी यस सूचीमा स्थान बनाएका थिए। पाकिस्तानका महान पेस बलर वसीम अकरमले पनि करियरमा यस जोड़ीको विकेट लिएका थिए। यसरी नै अष्ट्रेलियाई पेस बलर मिचेल स्टार्क र साइमन हार्मरले शिवनारायण र टेगनारिनको विकेट लिएका थिए। यसको साथमा अश्विन टेस्ट म्याचको पहिलो दिन ७०० अन्तर्राष्ट्रिय विकेट पूरा गर्ने तेस्रो भारतीय बलर पनि बने।

डोमिनाकामा जारी टेस्ट म्याचको पहिलो दिन वेष्ट इण्डिजको पहिलो ईनिंग्स केवल १५० रनमा समाप्त गर्नमा अश्विनको महत्त्वपूर्ण योगदान रह्यो। उनले ६० रन खर्च गरी ५ विकेट लिए। यसबाहेक रविन्द्र जडेजाले ३ विकेट हासिल गरे। रहल दुईवटा विकेट मोहम्मद सिराज र शार्दुल ठाकुरको नाममा रह्यो। वेष्ट इण्डिजको पहिलो ईनिंग्समा एलिक एथानाजेले सर्वाधिक ४७ रन बनाए। यसबाहेक कप्तान क्रेग ब्रेथवेटले २० र रखीम कर्नवालले अविजित १९ रन बनाए। जवाफमा भारतले ठोस शुरुवात गरेर म्याचलाई आफ्नो नियन्त्रणमा राख्यो। पहिलो दिनको खेल समाप्त हुँदासम्म भारतले आफ्नो पहिलो ईनिंग्समा कुनै विकेट नगुमाइ ८० रन बनायो। आफ्नो पहिलो टेस्ट म्याच खेलिरहेका यशस्वी जयसवाल ४० र कप्तान रोहित शर्मा ३० रनमा अविजित छन्।

About Author

Advertisement