कोलकाता: पश्चिम बंगाल पंचायत चुनावको परिणाम बुधबार रातिसम्म स्पष्ट भयो। राज्यका ८० प्रतिशत ग्राम पंचायत सीट आफ्नो नाममा गरेपछि तृणमूल कांग्रेसले राज्यका सबै जिल्ला परिषद सीटमा पनि कब्जा जमाएको छ। पश्चिम बंगालमा भाजपाका ७० भन्दा धेरै विधायक र १८ सांसद छन्, तर जिल्ला परिषदमा जित हासिल गर्न नसक्नु पार्टीको निम्ति निराशाजनक हो। प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदारले भने, ‘चुनावका दिन हिंसाका कारण मानिसहरू भोट हाल्न गएनन्। यस कारण यो परिणामले धेरै महत्व राख्दैन।’ हिंसा र आपराधिक घटनाहरूबीच पनि भाजपाले २१२ ग्राम पंचायतमा कब्जा जमाएको छ। यदि यसलाई निष्पक्ष भोटिङको परिणाम मान्नु हो भने जिल्ला परिषदमा एउटै पनि सीट पार्टीले नजित्नु भनेको निश्चित रूपमा २०२४ अघि ठूलो झट्का मान्न सकिन्छ। राज्यमा ३३१७ ग्राम पंचायत छन्, जसमा २६४१ मा तृणमूलले कब्जा जमाएको छ। यसरी नै ३४१ पंचायत समिति छन् जसमा ३१३ मा तृणमूलले कब्जा जमाएको छ। राज्यका सबै २० जिल्ला परिषदमा पनि तृणमूलले कब्जा जमाएको छ। उत्तर बंगालका जिल्लाहरू अलीपुरद्वार र कोचबिहारमा भाजपाले राम्रो प्रदर्शन गर्दै आएको थियो भने बुधवार रातिसम्म त्यहाँ पनि भाजपाको स्थिति स्पष्ट भयो। २०१८ को पंचायत चुनाव सरह यसपाली पनि जिल्ला परिषदमा तृणमूलले ठूलो अन्तरले जीत हासिल गरेको छ। यसलाई भाजपाको निम्ति राम्रो संकेत मानिएको छैन। -हिस