गान्तोक: राज्यको पशुपालन एवम पशु चिकित्सा विभागको पहलम आज सोरेङ जिल्लाको माङसारी, मंगरजुङ ग्राम पञ्चायत युनिटमा लुम्पी रोगबारे एक सचेतना कार्यक्रम आयोजना गरियो। सोरेङ जिल्लाको ग्राम पञ्चायत केन्द्रमा आयोजित यस कार्यक्रममा जिल्ला पञ्चायत, पञ्चायत सदस्यहरू, डा. सञ्जय गजमेर लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य गाई बस्तुमा लाग्ने लम्पी रोगबारे कृषकहरूलाई सचेत गराउनु रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै डा. सञ्जय गजमेरले यस रोगको नियन्त्रण र रोकथाम उपायहरूलाई सुदृढ पार्न र उचित व्यवस्थापन र न्यूनीकरणका लागि सम्बन्धित क्षेत्रहरूमा स्थितिबारे जानकारी लिने उद्देश्यले सचेतन कार्यक्रम आयोजना गरिएको बताए।

यसका साथै यो रोग द्रुत रूपमा फैलिनुको मुख्य कारणको विश्लेषण गर्ने र यसको उपचार सम्बन्धमा रहेका कृषकहरूको आशंकालाई हटाउनु रहेको अवगत गराए। उनले यसका लक्षण र सावधानी अपनाउनुपर्ने उपायबारे जानकारी दिए।