रोङ्गे मानेडाँडा वार्ड डेभलपमेन्ट सोसाइटीद्वारा स्ट्रेचर वितरण

IMG-20230410-WA0169-11-300x172-3

गान्तोक: रोङ्गे मानेडाँडा वार्ड डेभलपमेन्ट सोसाइटीले आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै शनिवारको दिन सामाजिक संस्था दुख निवारण समाज रोङ्गेलाई बिमारी बोक्ने स्ट्रेचर प्रदान गर्‍यो। यो अवसरमा माने डाँडा वार्ड पञ्चायत मुन्ना छेत्री मुख्यअतिथिका रुपमा उपस्थित थिइन भने ग्राम विकास विभाग एसआरएलएमका ब्लक प्रोजेक्ट म्यानेजर उमेश गुरुङ र दुख निवारण समाजका अध्यक्ष धनवीर ग्लान तामाङ विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए। रोङ्गे माने डाँडा वार्ड डेभलपमेन्ट सोसाइटीले मुख्यअतिथि मुन्ना छेत्रीको बाहुलीद्वारा सामाजिक संस्था दुख निवारण समाज रोङ्गेका अध्यक्ष धनवीर ग्लानलाई बिमारी बोक्ने स्ट्रेचर प्रदान गरिएको थियो।
आफ्नो सम्बोधनमा मुख्यअतिथी पञ्चायत मुन्ना छेत्रीले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको वर्तमान एसकेएम सरकारले सिक्किमका आमा चेलीहरुलाई सम्मान दिँदै विभिन्न महत्वकाँक्षी योजनाहरु लागू गरेको जानकारी गराइन। स्वयं सहायता समूहका सदस्यहरुले समूह मार्फत प्राप्त हुने आर्थिक सुविधा र सहुलियतहरुको सदुपयोग गर्दै आर्थिक रूपमा स्वनिर्भर बन्न पञ्चायत मुन्ना छेत्रीले आह्वान गरिन। महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्नको निम्ति स्वयं सहायता समूह एसएचजी एउटा महत्त्वपूर्ण प्लेटफर्म रहेको जनाउँदै मुख्यअतिथि श्रीमती छेत्रीले गाउँका सम्पूर्ण महिलाहरु स्वयं सहायता समूह एसएचजीको सदस्य बन्न थप आह्वान गरिन।
यसरी नै आफ्नो सक्सेस स्टोरी राख्दै अपराजिता स्वयं सहायता समूह एसएचजीका सदस्य दीपा शर्माले एसएचजीको सदस्य बनेपछि आफू केही हदसम्म भएपनि आर्थिक रुपले निर्भर बन्नसकेको बताइन। स्वयं सहायता समूह एसएचजीको नाममा विविध सामाग्रीहरु उत्पाद गरी त्यसबाट आएको रकमले एउटा दोकान खोली चलाउँदै आएको उपस्थित अतिथिगणलाई जानकारी गराइन। आफुले नै उत्पाद गरेकी सामाग्री लिएर जम्मु कश्मिर सारस मेलामा गएर विक्री गरेर फर्केको जानकारी दिदै महिलाहरुले चाहे असम्भव केही छैन भनी श्रीमती शर्माले बताइन्।
यो कार्यक्रमलाई विशेष अतिथि ब्लक प्रोजेक्ट म्यानेजर उमेश गुरुङ, दुख निवारण समाजका अध्यक्ष धनवीर ग्लान तामाङ, रोङ्गे माने डाँडा वार्ड डेभलपमेन्ट सोसाइटीकी अध्यक्ष श्रीमती अनिता तामाङ लगायत अन्यले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा रोङ्गे माने डाँडा वार्ड डेभलपमेन्ट सोसाइटीको अपराजिता एसएचजी र प्रेरणा एसएचजीका सदस्यहरुको पनि उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement