खरसाङ: पञ्चायत चुनाव प्रचारको अन्तिम दिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीहरूलाई लिएर घैयाबारी ग्राम पञ्चायत तीनको २५३ बुथमा चुनावी सभा सम्पन्न भएको छ। उक्त चुनावी सभा सुरज दुरालको अध्यक्षता र शंकु खवासको सञ्चालनमा सम्पन्न भएको छ। सभामा घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५३ बाट पञ्चायत सदस्यको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीहरू केवल राई र अरुणा तामाङ योञ्जन अनि पञ्चायत समितिको प्रार्थी वाङ्दी लामाको पक्षमा चुनावी सभा सम्पन्न भएको छ। उक्त चुनावी सभा २५३ नम्बरको बुथ अन्तर्गत पर्ने ६ वटा गाउँहरूलाई लिएर सम्पन्न भएको थियो। सभामा यस बुथमा खड़ा भएका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पञ्चायत सदस्यको प्रार्थीहरू केवल राई र अरूणा तामाङ योञ्जन र पञ्चायत समितिको प्रार्थी वाङ्दी लामाको पक्षमा वक्ताहरूले वक्तव्य राखेका थिए। सभामा आगामी ८ जुलाईको दिन हुने पञ्चायत चुनावलाई लिएर पार्टीगत रूपमा गरिने चुनावी तयारीको समीक्षा गरियो भने सबैले आफनो आफ्नो सर सल्लाह र सुझावहरू राखेका थिए।

सभापछि घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत समितिको प्रार्थी वाङ्दी लामाले पत्रकारहरूलाई सम्बोधन गर्दै विस्तृत रूपमा जानकारी गराउँदै आफु यसपालीको पञ्चायत चुनावमा घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५० जोगमाया चियाबारी, २५१ सिलिम हिल, २५२ नयाँ कमान र २५३ घैयाबारीको एपी बस्ती र अन्य क्षेत्रहरूबाट पञ्चायत समितिको सिटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीको रूपमा खड़ा भएको बताएका छन्। उनले यसपालीको चुनावमा आफ्नो प्रतिद्वान्दिता गर्ने निर्दलीय प्रार्थीको रुपमा एकजना रहेकोले आफ्नो जीतप्रति आशावादी रहेको बताएका छन्। उनले आफु पञ्चायत समितिको सदस्यमा निर्वाचित भएको खण्डमा गाउँ घरको विकासको लागि र जनताको सेवाको लागि कार्यहरू गर्नलाई तयार रहेको बताएका छन्।