‘मेरो रुख मेरो सन्तति’ कार्यक्रम अन्तर्गत च्याखुङमा नवजात शिशुहरुको नाममा रोपियो विरुवा

IMG-20230702-WA0381.jpg

सोरेङ। एसकेएम सरकारको महत्त्वकांक्षी कार्यक्रम मेरो रुख मेरो सन्तति अन्तर्गत च्याखुङमा आज नवजात शिशुहरुको नाममा विरुवा रोपिएको छ। अहिलेसम्म सोरेङ जिल्लामा चार सय पाँचजना शिशुहरुको नाम वन विभागमा पञ्जीकरण भइसकेको छ। ती शिशुहरुको नाममा वन विभागले धारावाहिक रूपमा विरुवा रोपन निरन्तर गरिरहेको छ। आज च्याखुङ ग्राम पञ्चायत एकाईका १२ जना नवजात शिशुको नाममा गुराँस र पिप्लीको बिरुवा रोपियो। यहाँ आयोजित मेरो रूख मेरो सन्तति कार्यक्रममा क्षेत्र विधायक आदित्य गोलेको विषेश उपस्थिति थियो। वहाँको साथमा जिल्ला पञ्चायत सदस्य दीपक गुरुङ र ग्राम पञ्चायतगण, वन विभागका सीएफ उदय गुरुङ, डीएफओ (टी) क्षितिज सकसेना, एसीएफ ओङ छिरिङ लेप्चा, रेञ्जरद्वय विनोद छेत्री र आशिष लामा, सीएलसी महासचिव छोजाङ भोटियासहित सत्तारूढ पार्टीका पदाधिकारीगण, नवजात शिशुका माता पिता र वन विभागका कर्मचारीहरुको उपस्थिति थियो।

उल्लेख्य, नवजात शिशुको नाममा १०८ वटा विरुवा वन विभागमार्फत रोप्नु पर्ने नियम सरकारले बनाएको छ। सिक्किम सरकारको मेरो रुख मेरो सन्तति एउटा महत्त्वकांक्षी कार्यक्रम हो। सोरेङ जिल्लामा अहिलेसम्म चार सय पाँचजना नवजात शिशुको नाम पञ्जीकरण वन विभागमा भइसकेको जानकारी वन विभागका डीएफओ क्षितिज सकसेनाले दिएको छ। मुख्यमन्त्री प्रेमसिंह गोलेले मेरो रुख मेरो सन्तति अभियानको यसै वर्ष २ फरवरीको दिन शुरूवात गरेको थियो। यो अभियान अन्तर्गत अब राज्यमा नवजात शिशुको नाममा एक सय आठवाट विरुवा अनिवार्य रुपमा रोप्नु पर्ने नियम बनाएको छ। उक्त विरुवाहरु नवजात शिशुको परिवारलाई वन विभागले विरुवाहरू उपलब्ध गराउने छन्। पर्याप्त जमीन हुनेले आफ्नो जमिनमा अनि जमिन नहुनेहरूको निम्ति वन विभागले नै विरुवा रोप्नको निम्ति जमिन उपलब्ध गराउने प्रावधान रहेको छ। नानी गर्वअवस्थामा हुँदा नै माता पिताले आशा, आँगनवाढी, पञ्चायत मार्फत मेरो रुख मेरो सन्ततिको निम्ति पञ्जिकरण गर्नुपर्ने हुन्छ। यसलाई राज्यवासीले अनलाइनमार्फत पनि पञ्जिकरण गर्नसक्ने छन्। पर्यावरण संरक्षण र प्रबर्द्धनको निम्ति जागरुक फैलाउन थालिएको मेरो रुख मेरो सन्तति अभियानको अहिले केन्द्र सरकारले पनि धेरै सराहना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement