१९९८ देखि बाँसको पुलको भरमा धोतरिया बालासनको जुमला गाउँका स्थानीयहरू

नेताहरू आउँछन् तर पक्की पुल भने बनाई नदिएको स्थानीयहरूको गुनासो

सोनादा: रङ्बुल देखि मुनि रहेको धोतरिया बालासनको जुमला गाउँका मानिसहरू अहिले पनि बाँसको पुलको भरमा खोला तर्न बाध्य छन्। यहाँको पक्की पुल सन् १९९८ तिर नै खोलाले लगेपछि अहिलेसम्म पनि पक्की पुल निर्माण हुन सकेको छैन। प्रत्येक गाउँलेहरूले बाँसको पुल बनाउँछन् जुन अस्थायी हुन्छन्। बाँसको पुल बनाउन पनि गाउँतिर बाँसहरू सकेर अरुतिर गएर बाँस किनेर ल्याउनुपर्छ तब मात्र पुल बनिन्छ। तर वर्षैपछि नयाँ बनाउनु पर्ने बाध्यता छ। बाँसको पुलको भरमा यहाँका मानिसहरू कामतिर जान्छन्, नानीहरू स्कूल जान्छन् तर पुल भत्केपछि त्यो पनि बन्द हुन्छ।

धोतरिया बालासनको जुमला गाउँमा ३५० वटा जति घरहरू छन् भने यहाँ मतदाताहरू मात्रै ९०० जना रहेका छन्। तर अहिलेसम्म पनि यहाँको बालासन खोलामा पक्की पुल निर्माण हुन सकेको छैन। यस पुलले धोतरिया बालासन र सिडर्स – सोनादालाई जोड्ने गर्दछ अनि यही पुलको भरमा यहाँका मानिसहरू कामतिर जाने गर्छन् अनि यहाँको नानीहरू टाड़ा टाड़ा स्कूलहरू पनि जान्छन्। त्यसैले यस गाउँको स्थानीय समाज दिव्य ज्योति समाजले प्रत्येक वर्ष बाँसको पुल निर्माण गररिरहेका छन्। तर कुनै पनि सम्बन्धित विभाग वा कुनै पनि राजनैतिक नेताले यहाँको मानिसहरूको लागि पक्की पुल निर्माण गर्नलाई पहल नगरेको गुनासो स्थानीयहरूले पोखेका छन्। स्थानीयहरूले यस पुलको निर्माण गरिदिने मांगमा सबै विभागहरूमा निवेदन गरिसकेको, सबै नेताहरूलाई गुहार मागिसकेको, नेताहरू पनि आउँछन् र खोला तर्छन्, पुल हेर्छन् तर खोलामा पुल निर्माण गर्नलाई कसैले सहयोग नगरेको गुनासो रहेको छ। विशेष गरी नानीहरू यसै पुल तरेर स्कूल जानु पर्ने र पुल नहुँदा चैं नानीहरू परीक्षाको समयमा पनि स्कूल जानु नसक्ने स्थिति हुन्छ, त्यसैले १९९८-९९ देखि यो बालासन खोलामा पक्की पुल नभएर मानिसहरू धेरै असुविधामा रहेको देखिएको छ।

यस विषयमा स्थानीयहरूको पक्षमा सोमकुमार राईले पत्रकारहरूसित कुराकानी गर्दै धोतरिया बालासन र सिडर्स सोनादालाई जोड्ने बालासन खोलामा पक्की पुल नभएकोले स्थानीयहरूले धेरै दु:ख पाईरहेको र हामीले १९९८ सालदेखि नै लगातार रुपमा हरेक विभागमा जानकारी गराए पनि अहिलेसम्म पक्की पुल निर्माण हुन नसकेको गुनासो गरेका छन्। उनले पक्की पुल निर्माण हुन नसकेपछि हामी गाउँलेहरूले नै वर्षैपछि बाँसको पुल बनाउनुपर्छ र बाँस पनि सकिन्दै गएकोले हामीले अरुतिर गएर किन्न पर्ने बाध्यता रहेको र पुल नहुँदा नानीहरू स्कूल जानु नपाउने साथै कोही पनि कामतिर पनि जानु नपाउने भएको बताएका छन्। यहाँ पक्की पुल निर्माणको लागि हामीले कतिजना नेतालाई भनेको, कतिजना नेतालाई खोला तराएर लगेको तर कतैबाट पनि यहाँ पूल बनाउन भने नसकिएको बताएका छन्। राईले केही समय अघि पनि नेताहरू आएको तर पुल भने निर्माण गर्न कसैले पहल नगरिदिएको गुनासो पनि स्थानीयहरूको पक्षमा पोखेका छन्। उनले नेताहरूले ढाट्दा नै अहिले नानीहरूको भविष्य पनि अन्धकार हुन लागेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement