गान्तोकः सिक्किमका वरिष्ठ साहित्यकार एवं कथाकार थिरु प्रसाद नेपाललाई ३४औं भानु पुरस्कारले अभिनन्दित गरिने भएको छ। नेपाली साहित्य परिषद, सिक्किमको विकास क्षेत्रस्थित भवनमा आज आयोजित एक पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष हरी ढुङ्गेलले उक्त जानकारी दिए।
आगामी १३ जुलाईका दिन पालन गरिने राज्यस्तरीय २०९औं भानु जयन्तीको अवसरमा साहित्यकार नेपाललाई अभिनन्दित गरिने छ। कार्यक्रम राजधानीको मनन केन्द्रमा आयोजना गरिने छ। कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहनेछन् भने मुख्यमन्त्रीकै बाहुलीद्वारा साहित्यकार नेपाललाई अभिनन्दित गरिने छ।
भानु पुरस्कारका साथै परिषदले भाषा, साहित्य, कला र पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तिहरूको नाम पनि पुरस्कारको निम्ति घोषणा गरेको छ। परिषदले यसपाली भाषा सेवाश्री-श्रीमती सानु सुब्बा, साहित्य सेवाश्री-कुमार नेपाली, सङ्गीत सेवाश्री-दुष्यन्त परियार, नाट्य सेवाश्री-महेन्द्र बजगाईँ, पत्रकार सेवाश्री-विष्णु न्यौपाने, चित्रकारिता सेवाश्री-दिवाकर लामिछाने र सेवाश्री सम्मान-दिलु तामाङलाई सम्मानित गर्ने भएको छ। यस अतिरिक्त, परिषद्ले भोटिया भाषामा किडेन भोटियालाई र लेप्चा भाषामा चुक्सुङ लेप्चालाई भाषा गौरव सम्मानले सम्मानित गर्ने भएको छ।